arin enterprises

स्टार अवार्डको समापन र बधाई कार्यक्रम हुँदै

SamacharDesk – बिराज | २०७९ चैत्र ९, बिहिबार

नेपालभाषा चलचित्र क्षेत्रको सबैभन्दा ठुलो र लामो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवाडएको औपचारिक समापन आउँदो चैत्र १७ गते गरिने भएको छ ।

आउँदो चैत्र १७ गते शनिबारका दिन भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको औपचारिक समापन गरिन लागिएको आयोजक संस्था संसार क्रिएसन्सले जनाएको छ ।

मुख्य अवार्ड कार्यक्रम र सह कार्यक्रमसमेत गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कार्यक्रम आयोजना गर्ने योजना अनुसार भक्तपुरमा कार्यक्रमको आयोजना गर्न लागेको संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले जानकारी दिए ।

‘अवार्ड घोषणा ललितपुरको बागडोलमा गरियो, नोमिनेसन कार्यक्रम कीर्तिपुरमा, फुटलब खोकनामा र मुख्य अवार्ड कार्यक्रम काठमाडौंको कमलादीमा गरियो । भक्तपुर पुगेका थिएनौं, अब समापन भक्तपुरमा गर्न लागेका हौं’ महर्जनले भने ।

भक्तपुरको पाण्डुबजारस्थित योयो ब्यांक्वेटमा कार्यक्रम गर्न लागिएको छ ।

कार्यक्रममा अवार्ड विजेताहरुलाई बधाईको साथै सहयोगीहरुलाई प्रमाणपत्र वितरण गरिने संसार क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर महर्जनले जानकारी दिए ।

आयोजकको तर्फबाट प्रायोजक साथै कार्यक्रमको लागि विभिन्न किसिमले सहयोग गर्ने सहयोगीहरुलाई धन्यवादसहित कृतज्ञता पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रमबाटै आर.बि. इन्टरटेनमेन्टको तर्फबाट सम्पूर्ण अवार्ड विजेताहरुलाई बधान ज्ञापन गरिने भएको छ ।

संसार्स क्रिएशनले गत माघ २९ गते कमलादीस्थित प्रज्ञा भवनमा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड्सको दोश्रो संस्करण सम्पन्न गरेको थियो ।

सो अवार्ड कार्यक्रममा प्रतिस्पर्धात्मक विधाको साथै विभिन्न सम्मानसमेत गरी ११९ जना पुरस्कृत र सम्मानित भएका थिए ।

आउँदो १७ गते शनिबारकै दिन, स्टार अवार्डको बधाई र धन्यवाद ज्ञापन कार्यक्रमपछि योयो ब्यांक्वेटमै नेपालभाषाको चलचित्रको ‘थम्हं म्हूगु गाः’ को विशेष प्रदर्शन पनि राखिएको छ ।

Categorized in पेजथ्री