arin enterprises

स्व. जोशीको उचाइ र छवि समाजका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल

SamacharDesk | २०७९ चैत्र १३, सोमबार

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व. नविन्द्रराज जोशीको सालिक आज राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमबीच अनावरण गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीति समाज र जनताप्रतिको सेवा भावले ओतप्रोत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले स्व. जोशी जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पण भएका व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताउनुभयो ।

उहाँले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले मुलुक र समाज परिवर्तनका लागि सदैव दृढ संकल्पित, सिद्धान्तनिष्ठ कार्यकर्ताका रूपमा जोशीले लोकतन्त्रलाई जीवनपद्धतिका रूपमा आत्मसाथ गरी लोकतन्त्रको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।

वि‍सं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशीको दुई वर्षअघि २०७७ चैत १३ गते मस्तिस्कघातका कारण निधन भएको थियो ।

जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान काँग्रेस नेताहरू हिँड्नुपर्ने बताउनुभएको छ ।

नेता सिंहले मूल्य मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले २०४६ सम्म मूल्य मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नविन्द्रराज जोशीको जीवनलाई समाजमा जीवन्त राख्न प्रतिमा स्थापना र अनावरण कार्यक्रम भएको बताउनुभयो ।

Categorized in राष्ट्रिय