सुरु भयो एसईई परीक्षा
SamacharDesk | २०७९ चैत्र १७, शुक्रबार

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज शुक्रबार सुरु भएको छ ।
आज विहान ८ बजेदेखि देशका ७७ वटै जिल्लामा एकसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) को तथ्याङकनुसार देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले परीक्षामा सहभागिता जनाएका छन् ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् ।
परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । देशका ७७ जिल्लामा दुई हजार ३६ र जपानमा एउटा गरी जम्मा २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार नौ सय ५९ र सबभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका छन् ।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् ।
जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिए ।
परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो ।
आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ ।
Categorized in राष्ट्रिय