arin enterprises

सृजनात्मक सोचको अभिव्यक्तिमा कल्पनम् सत्यतात्

SamacharDesk – बिराज | २०७९ चैत्र २५, शनिबार

दिनः चैत २३ गते बिहीबार, साँझको समय । साँझ ढल्किँदै जाँदा र्‍याम्पमाथि विस्तारै मोडलहरुको चहलपहल बाक्लिंदै गयो ।

एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रुप, रंग, स्वरुप र सृजनाहरुसँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए ।

नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा कल्पनम् सत्यतात् शीर्षक अन्तर्गत उक्त फेसन शोले मूर्त रुप पाएको हो ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित इन्द्रधनुषी अवधारणाका सुन्दर पहिरनहरुमा सजिएका मोडलहरुको रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा दशवटा विभिन्न कलेक्सन अन्तर्गत ८३ वटा रेगुलर तथा ९ वटा क्रिएटिभ डिजाइनका पहिरनहरु प्रस्तुत भएका थिए ।

कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा र्‍याम्पको एउटा निर्देशित स्थानमा मोडल उभिने बितिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैं निर्देशित गतिमा गोलाकार रुपमा घुम्ने गरी व्यवस्था गरिएको थियो ।

क्रिएटिभ ड्रेस पहिरिएका मोडलकै हुबहु पहिरनशैलीमा करिब तीन फिट अग्लो पूतली पनि रनवेमा प्रस्तुत गरिएको थियो ।

करिब तीन घण्टासम्मको कल्पनम् सत्यतात्को यात्रामा कृस्टलाइनमा आधारित द स्पार्कलिङ् सोयर, फेम फाटलमा आधारित डार्कनेस रिभ्याम्प, अरोराको अवधारणमा मिस्टिक इपिफानी, गिल्डेड ग्ल्यामरको प्रस्तुतिमा राजमटाज, किनसुकी आर्टमा आधारित आर्टष्ट्रि अफ एड्भर्सिटीका पहिरन अनेकौं स्वरुपहरुलाई साक्षात्कार गर्न पाइएको थियो ।

ब्ल्याक स्वानको अवधारणामा क्रिप अन् डार्क, ग्राफिटीमा आधारित ग्रिफोनेज्, ग्लो इन डार्कमा केन्द्रित नियन परेड तथा एक्लेटिक् अवधारणामा एसिन्ट्रिक एज् कलेक्सनलाई अवलोकन गर्न पाइएको थियो ।

२७ जना युवती मोडलहरु र ६ जना युवा मोडलहरुको प्रस्तुतिमा उक्त फेसन शो सम्पन्न भएको थियो भने सम्पूर्ण मेकिङ कलेजको १७औं ब्याचका ८३ जना विद्यार्थी डिजाइनरहरुको आयोजन, व्यवस्थापन तथा प्रस्तुतिको समग्र जिम्मेवारीमा भएको थियो ।

कार्यक्रमको कोरियोग्राफी र निर्देशनको अविभारा संचारकर्मी तथा चर्चित फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका हुन् ।

कार्यक्रममा नमूना कलेजद्वारा प्रकाशित फेसन क्याटलग दोस्रो संस्करणलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. यादव राज कोइराला तथा नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

उक्त परिक्षा रुपी फेसन शोमा फेसन अध्यापकत्रय राजेन्द्र सिंह, निशा श्रेष्ठ र कुश्मा श्रेष्ठ, साखः ग्रुपका अध्यक्ष किरण साखः, प्रथम मिस नेपाल रुबी राणा, राष्ट्रिय सीप परिक्षण समितिका कार्यकारी निर्देशक डा. कुल बहादुर बस्नेत, फेसन डिजाइनर रमिला नेमकुल तथा अभिनेता एवं फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Categorized in पेजथ्री