arin enterprises

नुवाकोटमा सिन्दुर जात्रासहित भेलु भेलुनी जात्रा हुँदै

SamacharDesk – Aakash Rajopadhyaya | २०७९ चैत्र २८, मंगलबार

नुवाकोटमा सिन्दुर जात्रा सहित धामी धमिनी (भेलु भेलुनी) जात्रा सुरु भएको छ ।

जात्राको क्रममा यहाँ धामी धमीनीलाई राज्यको मुख्य निकायको उपस्थितिमा सेनाको सलामीसहित लावालस्कर, ब्याण्डबाजा, पंचेबाजा र धिमय् बाजाका साथ जात्रामा पूजा गरि जात्रा गर्ने चलन रहेको छ ।

हरेक बर्ष चैत्र शुक्ल अष्टमीदेखि सुरु हुने भैरवी जात्राको मुख्य आकर्षण तथा महत्वपूर्ण भूमिका भने धामी धमीनी (भेलु–भेलुनी) को हुने गर्दछ ।

परम्परा अनुसार चैत्र शुक्ल अष्टको दिन भेलुले डमरू बजाई घर घरबाट चामल उठाई जात्रा सुरु हुन्छ । ती चामलबाट जाँड बनाइ जात्राको समयमा भेलु र अरु खलकहरुलाई पिलाइन्छ ।

त्रयोदशीको दिनमा कुमार, गणेश धामी, जलखा आदि देवीघाटमा गई निमन्त्रणा पूजा गर्दछन् । चैत्र शुक्ल चतुर्दशीका दिन भेलुको स्नान कार्यबाट जात्राको मुख्य विधान सुरु हुन्छ ।

यो स्नान विधि निकै रोचक छ । भेलु आफ्नो निवासबाट बन्दुकको आवाजको साइतमा बढाईँ गरी निस्केर घर अगाडिको मण्डपमा आउँछन् । त्यसबेला सेतो फिटा र सेतै जामा पहिरिएका गणेश धामी निस्किने समयमा ढोकामा नै उभिएका हुन्छन् । ढोकाको दुबैतिर मसाल बाली निशान ठड्याइएको हुन्छ ।

साथै यहाँ नुवाकोटको जीवित देवी कुमारीको पनि उपस्थिति तथा भूमिका रहने गर्दछ ।

भेलु मण्डपमा आएपछि बज्राचार्यहरुले मन्त्रोच्चारण गर्दै बज्राचार्यहरुकै निर्देशानुसार कुमारीले एक एक गरि तीनपल्टसम्म चाँदीको करुवामा जल चढाउँछिन् ।

बज्राचार्यहरुद्वारा वज्रयानी विधि अनुसार मन्त्र वाचन तथा पूजा गरेपछि मात्र यहाँ जात्राको विधिवत सुरुवात भएको मानिन्छ । त्यही जल भेलुले बढाईँका साथ आफ्नो शरीरमा खन्याइ स्नान गर्छन् ।

यहि दिन भेलुले विधिवत् रुपमा वस्त्र धारण गर्न गराउने पनि गरिन्छ ।

भेलु बनेको पात्रले रातो भोटो, रातै जामा लगाइ दायाँ हातमा डमरू र बायाँ हातमा पात्र लिएका हुन्छन् । शिरमा नौ फणा नाग अंकित सुनको जलप भएको मुकुटसँगै कानमा गोकुल, गलामा मुद्रामाला, अष्टमातृका अंकित कण्ठी, हातमा दुइ दुई वटा ठुल्ठुला बाला र चाँदिको कम्मरबन्द लगाएका हुन्छन् ।

यस्तै, भेलुनी रेश्मी कपड़ासँगै शिरमा एक फरक ढङ्गको मुकुटमा सजिएकी हुन्छिन् । सो मुकुटलाई हेर्दा त्यसमा नेवाः कलाकारिताको झलक पाइन्छ । साथै चाँदीका ससाना कढाई गरिएका फुल, मुण्ड, पत्ता, चाँदीको माला, सिक्का माला लगाएकि हुन्छिन् ।

 

यस भेषभुषामा भेलु भेलुनी घरबाट निस्किनु अघि बाहिर बाजागाजा बजाउनेहरु, राजाको छडी बोक्ने कटुवाल र द्वारेहरु जात्रा चलाउन तयार भइ बसेका हुन्छन् ।

घरवाट निस्कनु अघि भेलुलाई घरमा सगुन दिइन्छ । सुगन लिएपछि बन्दुकको बढाईँको साइतमा निवास बाट निस्की भेलु दौडेर क्षेत्रपाल रहेको स्थानमा गई बस्छन् । भेलु दौडेको दृश्य केही भयावह देखिएपनि रोमाञ्चक भने हुने गर्दछ ।

त्यो समयमा गुठियारहरुले वज्रयानी विधि अनुसार पूजा सुरु गर्छन् ।

त्यसपछि भैरवीलाई महाबली दिइन्छ । यो भन्दा पहिले बज्राचार्य गुर्जुको मन्त्रबलले भेलु भेलुनीमा भैरव र भैरवी चढाउने गरिन्छ । जब देउता चढ्छ, त्यसपछि भेलु र भेलुनी काम्न थाल्छ ।

भैरवलाई दिएको महाबलीको जाँड पिउन भेलु आक्रामक शैलीमा झम्टिँदा चारपाँच जना मान्छेहरुले भेलुलाई रोक्न खोज्छन् । यो दृश्य निकै रोमाञ्चक र उत्तेजक पनि देखिन्छ ।

त्यसपछि बज्राचार्य गुरुजुको मन्त्रोच्चारणमा भेलुलाई रोकी अजः (गाजल) लगाइदिन्छन् । प्रसाद स्वरुप यो अजः भक्तजनहरुले पनि लगाउँछन् ।

यसरी महाबलीको महत्वपूर्ण कार्य सिद्धिएपछि बाजागाजा आदिको साथमा भेलुको यो यात्रा बुढी देवतास्थानतिर पुगी टुंगिन्छ ।

यहाँ भेलुलाई शिव तथा भेलुनीलाई आदि शक्तिको जीवित प्रतीकका रूपमा लिने गरिन्छ ।

नेवाः समुदायका प्रायः जात्राहरुको शुरुवात देवपत्तासहितको ध्वज राखिएको यःंिसँ उठाएर गरिन्छ । यहि परम्परा यहाँ पनि छ ।

यःसिँ उठाउँदा भेलु यःसिँ उठाउने स्थानसँगै दक्षिणतिरको आसनमा बस्छन् । यो कार्य पूर्ण नभएसम्म जस्तो सुकै दैवी प्रकोप आइपरे पनि भेलुले सो स्थान छोड्न मिल्दैन ।

त्यसपछि भेलु बाजागाजासहित देशवन्दना वा देशान्तर गरिन्छ । यहाँ भने दुई स्थानमा यःसिँ उठाईन्छ, एक भैरवी मन्दिरको प्राङ्गणमा र अर्को तलतिर रहेको भैरवी देवीको आमाको मन्दिर प्राङ्गणमा ।

यो दिन मन्त्र उच्चारण गर्न चार जना गुर्जुहरु आवश्यक पर्छ तर हाल काम चलाउनको लागि एकजना मात्र गुर्जुले निरन्तरता दिइरहेका छन ।

प्रतिपदाको दिन भेलुलाई गणेश कहाँ भोज खुवाइन्छ । त्यसपछि साततल्ले दरवारमा सरकारकोतर्फबाट द्वारेले भेलुनीलाई वस्त्र अनि कुमार, गणेश धामी र खलकलाई फिटा अथवा भनौं पगरी वितरण गरिन्छ ।

अनि भेलुनीको शिरमा सिन्दुर लगाइ दिइ सरकारको तर्फबाट सगुन दिने र भोज खुवाउने कार्यक्रम हुन्छ । भोज खाएपछि भेलु भेलुनीलाई आफ्नो निवासमा भित्य्राइन्छ ।

त्यसको केहि बेरमा भेलु भेलुनी, गणेशलाई बाजागाजाका साथ तलेजु मन्दिरमा भित्य्राइन्छ । त्यहाँ बज्राचार्यले आवश्यक पूजा गरेपछि यो जात्रा देवीघाटको लागि प्रस्थान हुन्छ ।

जात्राको अर्को महत्वपूर्ण पक्ष भनेको भैरवी देवीको खट जात्रा हो । खटमा भैरवी र अष्टमातृकाको मुर्तिहरुलाई सजाइएको हुन्छ । भैरवीको खटलाई बोकी त्यहाँ भन्दा १० किमी टाढा, उनकी दिदी जलपादेवी भेट्न जाने चलन छ ।

 

धर्मपानी, बट्टार हुँदै यो यात्रा देवीघाट जलपादेवी स्थान अगाडि पुगेर सम्पन्न हुन्छ । जात्रामा राजाको छडी बोक्ने कटुवाल, किल्लाको द्वारे, लच्याङका ३६ जना जति तामाङ समुदायका व्यक्तिहरुबाट खटको जिम्मेवारी लिएको हुन्छ ।

खटयात्राको क्रममा सानो बगैंचामा पुगेपछि भेलुभेलुनीले त्रिशुली नदीमा स्नान गर्छन् ।

त्यहाँबाट जलपादेवी स्थानसम्म वस्त्रमार्ग अर्थात कपडा बिछ्याउँदै लगिन्छ । देवीघाटमा बज्राचार्यबाट बिशेष अनुष्ठान गरिन्छ ।

अनि राती सरकारकोतर्फबाट र गडखारबाट ल्याइएको राङ्गो, बोका आदिको भोग भेलुलाई दिइन्छ ।

अन्तमा एउटा माछाको भोग दिइन्छ । भोग दिने यो माछा भोग दिनुभन्दा केही समय अघि मात्र जाल थापी समातिन्छ ।

त्यसपछि देवता चढेका भेलुले आउँदो सालको भविष्यवाणी गर्ने गर्छन् । हालसम्म पनि धामी अर्थात भेलुले बोलेको कुरा राष्ट्रप्रमुखलाई चढाउने परम्परा छ ।

देवीघाटमा हुने जात्राको अन्तमा भैरवीलाइ कालो बोकाको बलि चढाइन्छ र त्यो बोकाको शिर, मुटु आदि यज्ञकुण्डमा होम गरिन्छ ।

त्यसपछी भेलु भुजा छर्दै उल्टो पाउ पछाडि सरेर देवीस्थानदेखि द्वारपाल स्थानसम्म आउँछन् ।

यो समय भेलुलाई कसैले पनि हेर्न नहुने चलन छ । भेलु द्वारपालसम्म आइपुगेको संकेत बन्दुकको बढाईँबाट दिइन्छ । त्यसपछि मात्र त्यहाँका मानिसहरु घरबाट बाहिर निस्कन मिल्छ ।

अनि भेलु भेलुनी आदिको प्रस्थान नुवाकोटको डाँडोतिर हुन्छ ।

देवीजात्रामा कन्याहरुको “इहि” अर्थात बेलबिवाह गर्ने चलन छ । यसदिन इहि वा बिहे गर्न साइत हेर्नु नपर्ने कथन छ ।

यात्रा फेरि बट्टार हुँदै धर्मपानी पुगेपछि सरकारकोतर्फबाट भेलुभेलुनी आदिलाई पूजा गरी भोज खुवाइन्छ ।

त्यसपछी यो जात्रा तलेजु मन्दिरतिर लगिन्छ । 

भैरवीको मन्दिर तल भगवतीस्थान अगाडि पुगेपछि भेलुनीलाई सिन्दुर लगाइदिन्छ र त्यसपछी जात्राले “सिन्दुर जात्राको” रुप लिन्छ ।

नुवाकोटको यो जात्रा सम्भवतः नेपाल भर धामी–धमिनीलाई राजकीय सम्मानका साथ सिन्दुर जात्रा गर्ने एक मात्र सिन्दुरे जात्रा हो ।

यहाँ सैनिक दल, प्रहरी, सरकारी कर्मचारी आदिको उपस्थिति रहेको हुन्छ । सिन्दुर हालेपछि सबै दलबलसहित तलेजु मन्दिर पुगेर जात्रा फेरि भैरवी स्थानमा फर्किन्छ । भेलु भेलुनीलाई आफ्नो निवास स्थानमा भित्य्राइन्छ ।

त्यही रातमा भैरवी स्थानको पूर्वपट्टि रहेको डबलीमा भेलुलाई बिशेष भोग दिने गरिन्छ । यस अवसरमा सेनाबाट बढाईँ गरिन्छ र देवता चढेको भेलुले भोग चढाइएका राङ्गो र बोकाको रगत पिउँछन् ।

वैशाख कृष्ण अष्टमीको दिन बाहिर खटमा रहेकी भैरवी र अष्टमातृकाका मुर्तिहरु मन्दिरमा भित्य्राइन्छ ।

भैरवीस्थान र बुढीदेवतास्थानका यसिँ पनि क्रमशः नवमी र दशमीको दिनमा ढालिन्छ । अन्तमा बाह्र भाइ खलकबाट भैरवीस्थान र तलेजु मन्दिरमा क्षमा पूजा सम्पन्न गरेपछि यो देवीको जात्रा (भैरवी जात्रा) को कार्यक्रम सम्पन्न हुन्छ ।

यो जात्रा कहिलेदेखी सुरु भयो भनेर यकिनसाथ भन्न सकिने प्रमाणहरु भने उपलब्ध छैन । तर नुवाकोटको नारायणस्थानमा रहेको पानसमा कुँदिएको ने.सं.५६१ को अभिलेख अनुसार यो शुरुवाती मल्लकाल अथवा लिच्छविकÞालदेखि नै चलि आएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै नुवाकोटका बुढापाकहरु यो जात्रा शिवसिद्धि राजाको पालादेखि नै चल्दै आएको बिश्वास गरिन्छ ।

नुवाकोटकै एक बैभवपूर्ण यस जात्राको प्रचारप्रसार भने खासै हुन सकेको छैन ।

फोटोः राजीव किलंन श्रेष्ठ

लेखः गौतम मान सिंह / राजीव किलंन श्रेष्ठ

Categorized in संस्कृति