arin enterprises

विश्व हेमोफिलिया दिवस मनाईंदै

SamacharDesk – समाचारडेस्क | २०८० बैशाख ४, सोमबार

विश्व हेमोफिलिया दिवस आज अर्थात अप्रिल १७ मा नेपाल लगायत विश्वभर मनाईंदैछ ।

यसै अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।  ‘सबैका लागि पहुँचः रक्तस्राव रोकथाम विश्व हेरचाहको मापदण्ड’ विश्व हेमोफिलिया दिवसको यस वर्षको नारा रहेको छ ।

विसं २०७८ मा राष्ट्रिय जनगणनामा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार नौ सय ३७ जना रहेको देखाएको थियो । हेमोफिलिया एक प्रकारको वंशाणुगत रोग हो ।

रगत जमाउन आवश्यक तत्त्वको कमीका कारण शरीरका विभिन्न अङ्गबाट लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ ।

हेमोफिलिया भन्नाले मानव शरीरमा रगत जमाउन रगतमा विशेष प्रकारका १३ वटा प्रोटिन फ्याक्टर हुन्छन् । ती फ्याक्टरले विभिन्न काम गर्ने गर्दछन् । रगत जमाउने प्रक्रियालाई ‘क्लटिङ फ्याक्टर’ भन्ने गरेको वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर रोग विशेषज्ञ डा. नीरजकुमार सिंह बताउनु हुन्छ ।

सिंहका अनुसार फ्याक्टर ‘आठ’ र ‘नौ’ले  रक्तनलीहरूमा सङ्कुचन, प्लेटलेट प्लागको निर्माण, छालामा फाइब्रिन जालोको निर्माण गरी शरीरले रक्तस्राव रोक्छ ।

९० प्रतिशत बिरामीमा फ्याक्टर आठको कमीले हेमोफिलिया हुने गर्छ । नेपाल हेमोफिलियाबाट पीडित आठ सय १४ जना रहेको छ हेमोफिलिया समाजका अध्यक्ष मुकुन्दमणि घिमिरले जनाएको छ ।

उनका अनुसार समाजमा सम्पर्कमा रहेकाको संख्या ८ सय १४ जना हो भने सम्पर्कमा नरहेका धेरै रहेको जनाएको छ । उनीहरुको खोजी कार्य तत्काल गरी रक्तस्रावको समयमा रोकथाम उपचार नभए ज्यानको जोखिम बढ्ने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रतिपाँच हजार पुरुषको जन्ममा एकजना हेमोफिलियायुक्त व्यक्ति जन्मन्छन् । चिकित्सकका अनुसार वंशाणुगत वा अन्य कारणले पनि हेमोफिलिया देखा पर्नसक्छ ।

हेमोफिलियाको उपचारका लागि क्लटिङ फ्याक्टर अर्थात् रगत जमाउने प्रोटिन दिनुपर्ने हुन्छ । पछिल्लो समय हेमोफिलियाको निदान गर्न सकिन्छ । यसका लागि एन्टिहेमोफिलिक्ट फ्याक्टरको प्रयोग गर्नुपर्छ ।

नेपाल सरकारले यसका लागि औषधि उपलब्ध गराउँदै आएको छ । अहिलेसम्म रोकथामका लागि औषधि र उपचार हुँदै आएको छ ।

यसको निदानका लागि उपचार पद्धति नेपाल भित्र्याउने तयारी रहेको चिकित्सकहरु बताउँछन् ।  

Categorized in राष्ट्रिय