arin enterprises

अमेजन प्राइममा रिलिज हुँदै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ५, मंगलबार

‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ आगामी वैशाख १९ गतेदेखि अमेजन प्राइममा रिलिज हुने भएको छ ।

गत भदौमा ‘गोर्खा ः बिनिथ द ब्रेभरी’ टाइटलमा नेपालमा प्रदर्शन भएको सोही फिल्म नाम परिवर्तन गर्दै ‘१९१५ः लेजेन्ड अफ गोर्खाज’ नामबाट अमेजन प्राइममार्फत रिलिज हुन लागेको हो ।

निर्माण पक्षले बेलायत, अस्ट्रेलिया, जापान, ताइवान र दक्षिण कोरियामा फिल्म रिलिजको तयारी भइरहेको जनाएको छ ।

प्रदीप शाहीको लेखन र निर्देशन रहेको यो वार मूभि भिक्टोरिया क्रस पदक जित्ने पहिलो बेलायती गोर्खा सैनिक कुलवीर थापाको जीवनिमा आधारित छ ।

फिल्मको कथावस्तु १९१५ को सेप्टेम्बर २५ मा बेलायती सेनाले फ्रान्सको लुसमा गरेको आक्रमणको घटनामा केन्द्रीत रहेको छ ।

त्यस युद्धमा २६ वर्षीय राइफलम्यान कुलवीर थापा घाइते भए पनि बाँच्न सफल भएका थिए ।

घाइते अवस्थामै थापा अन्य पीडितहरुको उद्धारमा खटिएका थिए । युद्धका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बेलायती महारानीले उनलाई भिक्टोरिया क्रसले सम्मान गरेकी थिइन् ।

फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, स्योन शाहीलगायतको अभिनय छ ।

अमेरिकी कम्पनी एसएनआरले चलचित्र वितरणको जिम्मा लिएको छ ।

Categorized in पेजथ्री