मुस्लिम समुदायहरु ईद मनाउँदै
SamacharDesk | २०८० बैशाख ९, शनिबार

मुस्लिम धर्मावलम्बीहरु आज ईद अर्थात इदुलफित्र मनाइरहेका छन् ।
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज गर्ने इस्लाम परम्परा छ ।
यस दिन मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदै छन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ ।
ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् ।
ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो छ । एकअर्कालाई अंगालो हालेर ‘ईद मुबारक भन्दै महिला तथा पुरुषहरुले शुभकामना साटासाट गरेका छन् ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।
Categorized in राष्ट्रिय