९५औं फोटो पत्रकारिता दिवस मनाईँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख १३, बुधबार

राज्यको चौथो अङ्गको रुपमा लिइन्छ संचार वा पत्रकारिता क्षेत्रलाई । वर्तमान समयमा पत्रकारिताको दायरा पनि फराकिलो बनिसकेको छ ।
पत्रकारिता भन्ने वित्तिकै कलमको शक्तिको कुरा हुने गर्थ्यो । अहिले कलम मात्र होइन, कम्प्युटरको कीबोर्डको साथै फोटो खिच्ने क्यामेरा र भिडियो क्यामेरा समेत पत्रकारिताको सशक्त माध्यम बनेको छ ।
एउटा फोटो पनि परिवर्तनको सम्वाहक बनेको थुप्रै उदाहरण हामी सामु छ ।
तर कुनै जमाना थियो, फोटो एउटा खिच्न पाउनु पनि ठुलै कुरा हुने गर्दथ्यो । झन पत्रपत्रिकामा फोटो छाप्नु भनेको त निकै गार्हो कुरा थियो ।
वि.सं. १९८४ बैसाख १३ गतेका दिन नेपालमा पहिलो पटक पत्रिकामा फोटो छापिएको थियो । सो दिनमा गोरखापत्र दैनिकमा वीरगञ्जकी सूर्यमाया श्रेष्ठले चर्खाबाट धागो काटिरहेको फोटो छापिएको थियो ।
यो दिन फोटो पत्रकारिता क्षेत्रमा एउटा ठुलो उपलब्धी हासिल भएको महत्वपूर्ण र ऐतिहासिक दिनको रुपमा लिने गरिएको छ ।
बैसाख १३ अर्थात आजकै दिन । आजकै दिनमा ९६ वर्ष अघि पहिलो पटक पत्रिकामा फोटो छापिएर प्रकाशित भएको दिन । आजको दिनको सम्झनामा हरेक वर्ष नेपालमा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको छ ।
आज पनि ९६औं फोटो पत्रकारिता दिवस मनाईँदैछ ।
दिवस मनाइरहँदा र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिरहँदा फोटो पत्रकारहरुको अवस्था भने सुध्रिन नसकेको गुनासो सुन्नमा आइरहन्छ ।
आफु कार्यरत संचारगृहबाट समयमा पारिश्रमिक नपाइने विषय त नेपालका पत्रकारिता क्षेत्रमा अहिले नौलो नरहीसक्यो ।
साथमा विभिन्न घटना, कार्यक्रममा रिपोर्टिङको क्रममा प्रहरीले फोटो पत्रकारलाई समेत लाठी चार्ज गर्ने, क्यामेरा खोसेर लिने, फुटाइदिने लगायतको घटना यहाँ भएका छन् ।
यस किसिमका परिस्थितीलाई निरुत्साहित गर्न, फोटो पत्रकारको जीउधनको सुरुक्षाको लागि राज्यले खासै केही ठोस कदम लिएको देखिएको छैन ।
बरु विभिन्न विधेयक, आचार संहिताको नाममा फोटो पत्रकारलाई फोटो एउटा खिच्न पनि अनुमति मागीरहनुपर्ने खालको नियम ल्याउन खोजिएको गुनासो आइरहन्छ ।
आज दिवसको अवसरमा यस्तो परिस्थितीप्रति ध्यानाकर्षण गराउँदै कैयन फोटो पत्रकारले सामाजिक संजालमार्फत राज्यलाई झकझकाउन पनि खोजेका छन् ।
Categorized in राष्ट्रिय