कोरोनामाथि बनेको पहिलो फिल्म डिजिटल प्ल्याटफर्मबाट रिलिज
SamacharDesk – विकाश | २०७७ बैशाख १५, सोमबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे पहिलो फिल्मको रुपमा अंग्रेजी चलचित्र ‘कोरोना जोम्बी’ डिजिटल प्ल्याटफर्मबाट रिलिज गरिएको छ ।
करीब पुरै विश्व ठप्प रहेको अवस्थामा अमेरिकी निर्देशक चार्ल्स ब्यान्डले कोरोना भाइरस संक्रमणको कथावस्तुमा आधारित फिचर चलचित्र नै निर्माण गरेर डिजिटल प्ल्याटफर्मबाट रिलिज गरेका हुन् ।
यस संक्रमणले महामारीको रुप लिनु अघि नै निर्माण भएको यो चलचित्रमा विश्वको वर्तमान अवस्थालाई काल्पनिक विषयवस्तु समेत जोडेर देखाइएको छ ।
चलचित्रमा वुहानबाट भाइरस निस्किने र यसले विस्तारै विश्वभरी महामारीको रुप लिने, बजारमा स्यानिटाइजर, ट्वाइलेट पेपर आदि सामानहरुको अभाव हुने लगायतका वर्तमान अवस्था पनि देखाइएको छ ।
संक्रमणबाट मृत्यु हुने एकजना जोम्बि बन्ने र उसैबाट अन्य मानिस पनि जोम्बि बन्दै जाने काल्पनिक कथा जोडेर यो हरर चलचित्र बनाइएको छ ।
संक्रमणले महामारीको रुप लिनु अघि नै यो चलचित्र कसरी निर्माण भयो भन्ने विषयमा निर्देशक चाल्र्स कोरोनाले संसारमा विकराल रूप लिन्छ भन्ने बुझेरै आफूहरूले चलचित्रको कथावस्तु बनाएको बताए ।
गत जनवरीमा चीनमा कोरोना संक्रमण देखिएपछि यो फिल्मको कथा परिवर्तन गरेर कोरोना संक्रमणको विषयमा फिल्म निर्माण गरिएको निर्देशक चार्ल्सले बताएका छन् ।
चलचित्र समीक्षकहरुले भने यो चलचित्रलाई दुई अंग्रेजी चलचित्र हेल अफ द लिभिङ डेड र जोम्बिज भर्सेज स्ट्राइपर्स लाई जोडेर रीडब गरिएको भनी आलोचना गरेका छन् ।
फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नीजस्ता कलाकार मुख्य भूमिकामा छन् ।
युट्यूबमा एक हप्ता अगाडी अपलोड भएको यस चलचित्रको भ्यूज हालसम्म ३० हजार पुगिसकेको छ ।
Categorized in पेजथ्री