वुहानका अस्पतालमा छैन अब कोरोनाका बिरामी
SamacharDesk – विकाश | २०७७ बैशाख १५, सोमबार

वुहानका अस्पतालहरूमा उपचाररत कोरोना भाइरस कोभिड–१९ का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार वुहानका अन्तिम बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ ।
योसँगै वुहान शहर कोरोना भाइरस कोभिड–१९ का बिरामी संख्या शून्य भएको घोषणा गरेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले यो उपलब्धी वुहानका स्वास्थ्यकर्मीको कडा मेहनतका कारण सम्भव भएको बताएका छन् ।
चीनको वुहान शहर कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल हो । गत २०१९ डिसेम्बरमा पहिलोपटक वुहानमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका थिए ।
वुहानको एक समुन्द्री खाना र मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ ।
सुरुका कोरोना संक्रमित सोही मासु बजारसँग सम्बन्धित थिए ।
चीनमा यो भाइरसबाट सबभन्दा प्रभावित क्षेत्र पनि यहि थियो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि वुहानलाई ७६ दिनसम्म लकडाउन गरिएको थियो ।
वुहानबाट ५० लाखभन्दा धेरै मानिस नयाँ वर्ष मनाउन बाहिर गएको र त्यहिँबाटै यो भाइरस विश्वभर फैलिएको बताइएको छ ।
चिनियाँ सरकारले यसै महिनाको सुरुतिर सार्वजनिक गरेको तथ्यांक अनुसार वुहानमा ५० हजार ३ सय ३३ जनालाई संक्रमण भएको र १२ सय ९० जनाको ज्यान गएको थियो ।
चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ रहेको चीनले जनाएको छ।
संक्रमण रोकथामका लागि बेइजिङमा नियम लागू
आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको थियो ।
ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ ।
यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ ।
यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ।
शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ।
जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ ।
Categorized in अन्तर्राष्ट्रिय