विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै
SamacharDesk | २०८० बैशाख २०, बुधबार

प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपाल लगायतका विश्वभरका पत्रकारहरूले आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ ।
हरेक वर्षको मे ३ मा विश्वभर यो दिवस मनाइन्छ । यो वर्ष ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारासहित यो दिवस मनाईदैछ ।
सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिवस मनाउन थालिएको हो ।
सन् १९९३ मा राष्ट्र संघीय एजेन्सी युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले घोषणापत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
त्यस्तै विश्वभरि सञ्चारका माध्यमहरूको स्वतन्त्रताका मुद्दा, मापदण्ड र महत्त्वको विषयमा पैरवी अनि बहस गरिँदै समाचार सङ्कलनका क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानको सम्झना र सम्मान गर्दै मनाइन्छ ।
यसै अवसरमा नेपाल पत्रकार महासंघले आज प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको सिनामंगलबाट निकालिएको प्रभातफेरि सञ्चारग्राम पुगेर टुंगिएको छ ।
यस्तै आजै विहान पत्रकार महासंघमा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ ।
Categorized in राष्ट्रिय