नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्चपदस्थ व्यक्तिहरु संलग्न
SamacharDesk | २०८० बैशाख २१, बिहिबार

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पुर्याउने काण्डमा एकपछि अर्काेको नाम मुछिएसँगै प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ ।
गत मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका हुन् ।
पाण्डेलाई अदालतले ठगी र सङ्गठित अपराधसम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
यस्तै सोही प्रकरणमा प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिप रायमाझीलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेका उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरीले बतायो । अहिले उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।
यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले अहिलेसम्म सो प्रकरणमा ८ जनालाई पक्राउ गरिसकेको छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डकोे अनुसन्धानका क्रममा पक्राउ परेका मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयत्न गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।
अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिए ।
शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पार्यो, जसमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकमसमेत फेला पर्यो ।
जसमा मोरङका केशव दुलाल र पूर्वगृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परेको थियो । दाङका सन्देश शर्मा, टोपबहादुर र राईबीचको लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको जनाएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा पूर्वगृहमन्त्रीहरू, अन्य पूर्वगृहसचिवहरूको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खालका देखिएकाले प्रहरीले ठोस प्रमाण सङ्कलन गरिरहेको जनाएको छ ।
Categorized in राष्ट्रिय