२४ वर्षपछि विश्वकपमा साउदी अरेबियाको जित
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १२, मंगलबार

२४ वर्षपछि साउदी अरेबियाले विश्वकपमा पहिलो जित पारेको छ । इजिप्टलाई २–१ गोलले हराउँदै साउदी अरेबियाले विश्वकपमा २४ वर्षपछि पहिलो जित दर्ता गरेको हो ।
इजिप्ट भने अझै विश्वकपमा जितविहीन रहृयो ।
रसियामा जारी विश्वकपमा साउदी अरेबियाले आफ्नो अन्तिम खेलमा भने साउदी अरेबिया जितेको हो । यो भन्दा अगाडि, पहिलो खेलमा घरेलु टोलीसँग ५–० ले पराजित भएको थियो । दोस्रो खेलमा भने उरुग्वेसँग एक गोल मात्र खाएको थियो ।
खेलमा अग्रता भने इजिप्टले लिएको थियो । २२औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएको थियो ।
४१औं मिनेटमा साउदीले पेनाल्टी पाएको थियो । तर, अल मुवालेदको प्रहार इजिप्टका गोलकिपर इसाम अल हदारीले रोकेपछि पेनाल्टिको अवसर भने खेर गएको थियो ।
तर, पहिलो हाफको अतिरीक्त समयमा अल फराजले साउदीका लागि पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याए । सबैले खेल बराबरीमै सकिने अनुमान गरीसकेका थिए तर, अल दोसारीले इन्जुरी टाइममा गोल गर्दै साउदी अरेबियालाई २–१ गोलको जित दिलाएका छन् ।
विश्वकपमा साउदी अरेबियाको सन् १९९४ पछि पहिलो जित हो । यो खेल जितेपनि दुइ खेलमा हार बेहोरेको साउदी अरेबिया समूह चरणबाटै बाहिरीसकेको छ ।
Categorized in स्पाेर्ट्स