मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा
SamacharDesk | २०८० जेठ २, मंगलबार

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०६२/६३ को जनआन्दोलनमा घाईते भएका काभ्रेका मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गर्ने निर्णय भएको छ ।
गत बैशाख २८ गते निधन हुनु भएका कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरिएको नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।
दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको बैशाख २८ गते निधन भएको थियो । जनआन्दोलनमा घाइते भएर १७ वर्षदेखि "जिउँदो सहिद"का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो।
२०६२ चैत २७ गतेको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर उनी घाइते भएका थिए । गोली मुकेशको कञ्चटमा लागेको थियो। त्यतिबेला उनी १४ वर्षका मात्र थिए।
त्यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई स्विजरल्याण्डको जेनेभामा यही जेठ ७ गतेदेखि सूरु हुने ७६ औं वल्र्ड हेल्थ एसेम्लीमा सहभागी हुनका लागि स्विकृति पनि प्रदान गरेको छ ।
जेठ १६ गतेसम्म हुने सो सम्मेलनमा अतिरिक्त सचिव विकास देवकोटा पनि सहभागी हुने मन्त्री शर्माले बताउनुभयो ।
त्यसैगरी सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्य पदमा प्राध्यापक श्रीराम रामकृष्ण, सिंगापुर, संगीता सिंह काठमाडौं, प्राध्यापक पुष्करमान बज्राचार्य काठमाडौं, प्राध्यापक सुजान फ्राटियार क्यानडा, प्राध्यापक नामपेर अमेरिका, प्राध्यापक सुर्दशनराज तिवारी काठमाडौं, पदम ज्योति, काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुईत काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद बैठकले तिलगंगा आँखा स्वास्थ्य शिक्षाका लागि विधेयक तर्जुमा गर्नका लागि स्विकृति दिने निर्णय पनि भएको छ ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि करिव १८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई स्विकृति प्रदान गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनु भयो ।
Categorized in राष्ट्रिय