arin enterprises

३०औं मदन–आश्रित स्मृति दिवस मनाईंदै

SamacharDesk | २०८० जेठ ३, बुधबार

नेकपा एमालेले आज ३०औँ मदन–आश्रित स्मृति दिवस मनाइरहेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय सडक दूर्घटनामा मृत्यु भएको तीस वर्ष पुगेको छ ।

२०५० साल जेठ ३ गते मुग्लिन–चितवन सडकखण्डको दासढुंगामा भएको जीप दूर्घटनामा मदन–आश्रितको निधन भएको थियो । जीपका चालक अमर लामा सकुशल रहेर नेताद्वयको मृत्यु भएको उक्त घटना अहिले पनि रहस्यमय नै छ ।

घटनाका एक मात्र सबुत चालक अमर लामाको पनि माओवादी द्वन्दकालका क्रममा २०६० सालमा कीर्तिपुरमा दिनदहाडै हत्या भएपछि मदन–आश्रित दूर्घटना सधैं रहस्यमै रहने अवस्था बनेको हो ।

यस बीचमा नेकपा एमालेकै नेतृत्वमा थुप्रै सरकार बन्ने र मदन भण्डारीकै पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति बन्दा पनि उक्त घटना पुनः छानविन गरिएन ।

यसैबीच, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले आज छुट्टाछुट्दै रुपमा मदन–आश्रित स्मृति दिवस मनाउने भएका छन् । मदन स्मृति दिवसका अवसरमा आज बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका भुतपूर्व महासचिव मदन भण्डारीको ‘हत्या’ बारे समयक्रममा खोजी हुने बताएका छन् । उनले सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे ।

‘नयाँ नेपाल, समृद्ध र सुखी नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ, त्यसलाई उहाँका उत्तराधिकारी हामीले पूरा गर्नुपर्ने छ,’ उनले भने । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उहाँको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गर्नुभएको हो ।

यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गर्नुभएको छ । यसैगरी पूर्वराष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत आज अवलोकन गर्नुभयो ।

Categorized in राष्ट्रिय