हिन्दु धर्मबारे बोल्न भाजपाबाट पैसा लिने गरेको अमेरिकाको आरोप
SamacharDesk | २०८० जेठ ४, बिहिबार

अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले नेपालमा हिन्दूराष्ट्रबारे अभिव्यक्ति दिन भारतले पैसा दिने गरेको आरोप लगाएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले सन् १९९८ देखि प्रकाशित गर्दै आएको भनिएको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा सो कुरा उल्लेख गरेको छ ।
नेपालमा हिन्दू धर्मसम्बन्धी अभिव्यक्तिको सन्दर्भमा छुट्टै १३ पृष्ठको प्रतिवेदन प्रकाशन गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्टमा नेपालको धार्मिक स्थितिप्रति टिप्पणी गर्दै हिन्दु राष्ट्रका पक्षमा बोल्न पैसा दिने गरेको उल्लेख गरिएको हो ।
यो रिपोर्ट बनाउन काठमाडौंस्थित अमेरिकी दूतावासले सरकारी अधिकारी, धार्मिक समूह, गैरसरकारी संस्था, पत्रकारहरू, मानवअधिकार अनुगमनकर्ता, शिक्षाविद्, सञ्चारमाध्यम र अन्य ठाउँबाट सूचना संकलन गरेको अमेरिकी विदेश मन्त्रालयले दाबी गरेको छ ।
प्रतिवेदनमा नेपाल धर्म निरपेक्ष राज्य भनिए पनि वास्तविकता त्यस्तो नरहेको आरोप पनि लगाइएको छ । नेपालको संविधानले नै धर्म परिवर्तनलाई निषेध गरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भारतको सत्तारुढ भारतीय जनता पार्टी सम्बद्ध समूहहरुले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई हिन्दु राज्यको वकालत गर्न पैसा दिने गरेको दाबी गरिएको छ ।
अमेरिकाालगायत पश्चिमा देशहरुले नेपालमा ईसाइकरणका लागि गरिरहेको लगानीप्रति भने अमेरिकी प्रतिवेदन मौन छ ।
यता, भारत सरकारले अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदनप्रति आपत्ति जनाउँदै प्रतिवेदनलाई भ्रामक भनेको छ ।
Categorized in राष्ट्रिय