रेडियो नेपालकी प्रथम गायिका रानुदेवी रहिनन्
SamacharDesk – बिराज | २०७७ बैशाख १९, शुक्रबार

रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।
८६ वर्षीया अधिकारीको गएराति निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो भने अस्पताल पुग्दा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
उहाँको शुक्रबार विहानै पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ ।
उनका एक छोरा र दुई छोरी छन् । छोरा र जेठी छोरी अमेरिकामा अमेरिकामा बस्छन् । उनी कान्छी छोरीसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।
उनका रेकर्ड भएका गीतहरूमा ‘जुनेली रात हजुर’, ‘मेरो मुटुको माझमा कसको तस्बिर’, ‘चरी भुर्र उडी घरमा मेरो जाऊ’, ‘तिमी दूर देशका परदेशी’, ‘जुनेली रात हजुर गम्किन्छ बात हजुर’, ‘जागे नेपाली उठे नेपाली’, ‘फागुको शीतल बतास’ लगायत छन् ।
संक्षिप्त जीवनि :
रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो ।
उनको बाल्यकाल बनारसमा बित्यो । त्यहीँ रहँदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो ।
उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो । त्यति बेला उनी ८ कक्षामा पढ्दै थिइन् ।
इतिहासमा स्नातकोत्तर रानुदेवीले २०२३ देखि २०५३ सालसम्म अध्यापन पनि गरेकी थिइन् ।
सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन।
रेडियो नेपालकी प्रथम गायिकाको रुपमा परिचित उनले शिक्षासेवीको परिचय पनि बनाएकि छिन् ।
उनी कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत हुन् ।
गायक तथा संगीतकार सुमन खड्काले २०६३ सालमा उनको बारेमा ‘५६ वर्षपछि........’ शिर्षकमा सांगीतिक वृत्तचित्र निर्माण गरेका छन् ।
प्रजातन्त्र स्थापनामा योगदान :
नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गर्नु भएको उहाँलाई प्रजातन्त्र सेनानीको रुपमा पनि स्मरण गरिन्छ ।
रानुदेवीले निरंकुश राणा शासन बिरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।
तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणाशासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।
२००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो ।
२००४ सालमा विराटनगर जुट मिल्समा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले प्रोत्साहन गरेका थिए ।
रेडियो नेपालमा गीत रेकर्ड गराउनु अघि नै जनतामा जागरण जगाउन उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन् ।
Categorized in पेजथ्री