नेपालमा थप दुई जनामा देखियो कोरोनाभाइरसको संक्रमण
SamacharDesk – विकाश | २०७७ बैशाख १९, शुक्रबार

नेपालमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बाँकेका एकजना र रूपन्देहीका एकजना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
नयाँ संक्रमित दुईमध्ये एक जना रूपन्देही कोटहीमाईका २५ वर्षीय युवक हुन् ।
रुपन्देहीको भैरहवास्थित बिउविजन कार्यालयमा स्थापना गरिएको कोरोना प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
उनी १४ दिनअघि भारतको दिल्लीबाट लुकिछिपि नेपाल पसेको बताइएको छ ।
वैशाख ५ गते गाउँ आएका उनलाई सोही दिन नै कोटहीमाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखेको थियो ।
बाहिरबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वाब परीक्षण गर्ने क्रममा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरू गरिएको जनाइएको छ ।
अर्का संक्रमित नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरूष रहेका छन् ।
उनी स्थानीय मस्जिदमा पढाउने गुरू भएको बताइएको छ ।
स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलहरूमा बस्नेहरूलाई खोजेर स्वाब परीक्षण गर्ने क्रममा उनमा संक्रमण देखिएको हो ।
स्थानीय मस्जिदमा बस्ने ११ जनाको स्वाब परीक्षण गरिएकोमा उनमा मात्रै कोरोना पुष्टि भएको हो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै औषधि पसलबाहेक सम्पूर्ण बजार बन्द गर्न निर्देशन दिएको छ ।
नेपालगन्जमा बिहानदेखि बेलुका ४ बजेसम्म हरेक दिन लगभग सबै पसल खुल्ने गरेका थिए ।
संक्रमित दुबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी शुरु भएको जनाइएको छ ।
प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कर्णाली प्रदेशमा भने अहिलेसम्म कोरोनाका संक्रमित देखिएका छैनन् ।
आज थप दुई जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जसध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
Categorized in राष्ट्रिय