शरणार्थी प्रकरणको प्रतिवेदन प्रहरीले बुझायो
SamacharDesk | २०८० जेठ ८, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले आज सोमबार आफ्नो रायसहितको पूर्ण प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो । आइतबार समय अभावको कारण आंशिक प्रतिवेदन मात्रै बुझाएको प्रहरीले आज भने पूर्ण प्रतिवेदन बुझाएको हो।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ।
हाइ प्रोफाइलहरु तानिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना हिरासतमा रहेका छन् । थप १६ जना फरार रहेकोले खोजी भईरहेको छ ।
उनीहरु केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो ।
केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वसभासद आङटावा शेर्पासहित १६ जना पक्राउ परेका छन् ।
पूर्वसभासद शेर्पाविरुद्ध ५ जनाले किटानी जाहेरी दिएको बुझिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी परेको छ।
Categorized in राष्ट्रिय