arin enterprises

नेपालीहरुलाई किन मनपर्छ ‘बबल टी’

SamacharDesk – राम डंगोल | २०८० जेठ १३, शनिबार

शुक्रबारको दिन थियो, सधैं झैं म आज पनि आफ्नो अफिसको ड्यूटी सकाएर घर फर्किने तरखरमा थिएँ ।

मेरो मोबाइलमा छोराको फोन आयो । फोन उठाएँ, उताबाट छोराको अर्डर आयो, ‘बाबा, आज मलाई कस्तो बबल टि खान मनलाग्यो, तपाईँ घर आउने बेला मेरो लागि बबल टी लिएर आउनु है ।’

छोराको अर्डर, फेरी छोराले जाबो बबल टी एउटाको इच्छा गरेकोमा बाबुले नाईँ भन्ने कुरै भएन । हस् छोरा भन्दै फोन राखें । बबल टी लिनको लागि अफिसबाट म सिधै बसन्तपुरतिर लागें ।

पहिला त त्यत्ति याद गरेको थिइन, त्यो दिन बबल टी नै खोज्न हिँडेको बेला बल्ल पो चाल पाएँ, आम्मामामा बसन्तपुरमा त कति धेरै बबल टिका पसलहरु खुलिसकेका रहेछन् । पाइलैपिच्छे जसो बबल टीका पसलहरु । केही समय अगाडि बोनमचा लगायत १/२ वटा मात्र भएको त्यस्ता पसलहरु अहिले १०/१५ वटा नै पुगिसकेका रहेछन् ।

छेउमा दुग्ध विकास संस्थानको विक्री केन्द्र पनि सानो कवलको पसलमा सीमित भइसकेको रहेछ । पहिला दुग्ध विकास संस्थानको पसल ३/४ कवलमा फैलिएको थियो तर अहिले आएर एउटा कवलमा सीमित हुन पुगेको रहेछ ।

हिजोआज गर्मी बढेसँगै यस्ता बबल टी निकै लोकप्रिय हुँदै आएको देखिन्छ । विशेष गरी युवा पुस्तामाझ बबल टिहरुले निकै बजार लिएको देखिन्छ । विशेष गरेर कोभिड १९ संक्रमणका कारण भएको लकडाउनपछि यसको लोकप्रियता झन् बढेको हो ।

टिनएज पुस्तामा बबल टी रुचाइएको देखिएको बताउँछन् न्यूरोड फुट कोर्ट (एनएफसी) का मेनेजर सुजन डंगोल। ‘यहाँ हाम्रो पसलमा बबल टी खानको लागि बालकदेखि बृद्धसम्मै पनि आउँछन्, तर विशेष गरेर टीनएजको संख्या भने बढि देखिन्छ ।’ एनएफसीका मेनेजर डंगोल भन्छन् । ‘टीनएज युवाहरु हातमा बबल टी समाउँदै बसन्तपुर क्षेत्र घुमघाम गर्न रुचाउँछन् ।’

यस बबल टीलाई बोबा टी पनि भन्ने गरिन्छ । के हो त यो बबल टी अथवा बोबा टी ? नामबाटै अनुमान लगाउन सकिन्छ, बबल टी एक चियामा आधारित पेय पदार्थ हो । यसमा विशेष गरेर हुने भनेको बोबा हो र अर्को मुख्य तत्व भनेको फ्लेबर हो । यो सन् १९८० को दशकको शुरुमा ताइवानमा विकास भएको भनिएको छ ।

एउटा बोबा टी अथवा बबल टी बनाउन त्यसमा राखिने सामग्रीहरु भने पसल अनुसार फरक फरक रहेको एनएफसीका अर्का मेनेजर कुन्जन आचार्य बताउँछन् । ‘कसैले दुध नै राख्छन् त कसैले पाउडर राख्छन् । फ्लेबरमा पनि कसैले सस त कसैले पाउडर अथवा कसैले आइसक्रीम पनि राख्ने गर्छन् ।’ आचार्यको भनाई हो ।

कसैले थोरै चिया पनि राख्ने गरेको पाइएको पनि आचार्यले जानकारी दिए । विश्व बजारमा बबल टी ९० को दशकदेखि सुरु भएको देखिन्छ । बबल चिया अचेल ताइवान, जापान, भिएटनाम र चाइनमा विशेष लोकप्रिय रहेको र संयुक्त राज्य अमेरिकामा प्रचलित पेय पदार्थ हो । यस्ता विकसित देशमा प्रचलित त्यहि बबल टी आज म छोराको लागि आफ्नो घर लग्दै थिएँ ।

सोही क्रममा म एउटा पसलमा छिरेर चकलेट बबल टिको अर्डर गरें । अर्डरकै क्रममा बबल टीको बारेमा पसलका साहुजीसँग केही कुराकानी भयो । शुरुमा बबल टि कति प्रकारको छ सोधें उनले १०/१२ प्रकारको भएको बताए र तिनीहरुको मूल्य पनि रु. २२० देखि ४५० सम्म पर्ने बोबा टी आफूकहाँ उपलब्ध भएको बताए ।

एउटा सामान्य जागिरी मान्छेलाई त्यो मूल्य अति नै धैरै हो, त्यसैले मैले यस्ता महंगो हुनुको कारण सोधें । पसलेका अनुसार त्यसमा प्रयोग हुने दूधदेखि लिएर सबै चाहिने सामग्रीहरु छिमेकी मुलुक भारत, चीनबाट आउने भएकोले यत्तिको महंगो भएको बताए ।

कत्तिले भने यो केवल सौखको रुपमा भनौं या मोर्डनाइज सोसाईटीको अङ्गको रुपमा आफुलाई प्रस्तुत गर्न पनि बबल टी खाने गरेको पाइन्छ । कतिको लागि यो फेसन हो, अरुले खाँदैछन् त म पनि खाइदिउँ न त भनेर पनि फेसनको रुपमा बबल टी खाने गरेको देखिन्छ ।

अझ बोबा टि राख्ने प्लाष्टिकको गिलास समेत बाहिरबाटै आयात गर्नुपर्ने रहेछ । हुन त अचेल यसको लागि नभई नहुने बोबा नेपालमै पनि उत्पादन हुन थालेको एनएफसीका आचार्य बताउँछन् । तर बोबा चपाउँदा जति मज्जा आउनुपर्ने हो, नेपाली बोबाले त्यो मजा भने दिन नसकेको उपभोक्ताहरुको अनुभव देखिन्छ ।

बाहिरी देशमा विभिन्न फ्लेबरका बोबाहरु पनि पाईँदो रहेछ । गुलाबी रङ्गमा स्ट्रबेरी, प्याजी रङ्गमा ब्लुबेरी, सेतो रङ्गमा भेनिला आदि फ्लेबरका बोबा पाइन्छ । नेपालमा भने फ्लेबरसहितको बोबा उपलब्ध भएको छैन ।

बोबा टी निकै लोकप्रिय त छ । तर यो खाँदा के फाइदा गर्छ त भन्ने प्रश्न त पक्कै उठ्छ । यो आइस अथवा आइसक्रिम पनि मिसाएर बनाउँदा शरीरलाई चिसो पार्ने भएकोले गर्मी छलाउन पनि उपभोक्ताहरुले यो खाने गरेको देखिन्छ ।

कत्तिले भने यो केवल सौखको रुपमा भनौं या मोर्डनाइज सोसाईटीको अङ्गको रुपमा आफुलाई प्रस्तुत गर्न पनि बबल टी खाने गरेको पाइन्छ । कतिको लागि यो फेसन हो, अरुले खाँदैछन् त म पनि खाइदिउँ न त भनेर पनि फेसनको रुपमा बबल टी खाने गरेको देखिन्छ ।

बबल टीको बजार काठमाडौं भित्रै बढि देखिएको छ । मोफसलतिर बबल टीको बजार निकै खुम्चिएको अवस्था छ भने काठमाडौंमै पनि कतिपय बबल टीका पसलहरु बन्द भइसकेको अवस्था छ ।

तर उपत्यकाका तीनवटा दरवार क्षेत्र पर्यटकिय गन्तव्य बनेकै कारणले पनि यहाँतिर भएका बबल टीका पसलहरुलाई ग्राहकको कमी देखिँदैन । एउटा पसलबाट कम्तीमा दिनको चार सयदेखि पाँच सय कप बबल टी विक्री हुने गरेको पाइन्छ ।

बबल टीकै कारण यहाँ कैयन नेपालीको घर परिवार चलिरहेको त छ तर, यसको लागि चाहिने सामग्रीहरु नेपालमै उत्पादन हुन नसक्नु र गिलाससम्म पनि बाहिरी देशबाट आयात गरिरहनुपर्ने बिडम्बना पनि योसँगै जोडिएको छ ।

नेपाली बजारमा अत्यधिका माग रहेको बस्तुहरु अथवा यसको लागि आवश्यक कच्चा पदार्थहरु नेपालमै उत्पादन हुन सके देशको अर्थतन्त्रलाई ठुलो टेवा पुग्न सक्थ्यो । 

Categorized in विचार