तीन दशकपछि बज्रधरको मूर्ति फर्काइयो
SamacharDesk – Ram Dangol | २०८० जेठ २०, शनिबार

करिब तीन दशकअघिदेखि हराइरहेको दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित बज्रधरको मूर्ति फर्काएर कुलायनमा भित्राइएको छ ।
भीमेश्वरको कोर्छे टोलबाट २८ वर्षअघिदेखि सो मूर्ति हराइरहेको थियो । मूर्ति फर्काएसँगै पूजा तथा वैदिक विधि विधान गरी श्रेष्ठ परिवारको कुलायनमा भित्राइएको जनाइएको छ ।
हराएको मूर्ति हङकङमा भेटिएको उक्त मूर्ति छाउनी म्युजियमबाट बुझी दोलखा ल्याइएको हो । मूर्तिलाई बाजागाजा सहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भित्राइएको हो ।
भित्राउनु अघि मूर्तिलाई गाईको दूधले नुहाएर श्रीपेच पहिराइएको थियो । यो कोर्छेमी ९ राज ० श्रेष्ठ खलकको मूर्ति हो । २०५२ साल भदौ १४ गते यो मूर्ति हराएको थियो ।
श्रेष्ठ खलकका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो ।
यो मूर्ति फर्काउन पहल गर्दै आउनु भएकी प्रा.डा. एमिलिन स्मिथले यसको उत्पत्ति पहिचानमा प्रमाणिकता देखाएपछि सङ्कलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरिएको थियो ।
नेपाली महावाणिज्य दूतबाट छाउनीको म्युजियममा ल्याइएको थियो । म्युजियमले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको हो । बज्रधरको ३७”अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो ।
हरेक वर्षको इन्द्र जात्रामा पाँच दिनसम्म पूजाआजा गरी देखाइने गरिन्छ । कुलायनमा राखिएकै अवस्थाबाट मूर्ति चोरिएको थियो । बाकसमा राखिएको श्रीपेच भने यहीँ रहेको थियो ।
Categorized in समाज