नेपालगंजमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२
SamacharDesk – विकाश | २०७७ बैशाख २३, मंगलबार

आज विहानै बाँकेको नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८बाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
९ वर्षकी बालिकासहित ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज संक्रमित देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको बताइएको छ ।
आज बाँकेमा ७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको छ । तीमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
नेपालगन्जमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग र स्वाब संकलन मंगलबारबाट शुरु हुने भएको छ ।
आइतबार मात्रै बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन् ।
गत शुक्रबार भेटिएका संक्रमित पुरुष लकडाउनको समयमा समेत मस्जिद र मदरसामा आउजाउ गरिरहेकाले उनीबाटै संक्रमण भएको पनि आशंका गरिएको छ ।
नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ।
संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
बाँकेसँग सिमाना जोडिएको कर्णाली प्रदेशले पनि कोरोना संक्रमण रोकथामका लागि सबै नाका बन्द गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।
Categorized in राष्ट्रिय