arin enterprises

५औं मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित

SamacharDesk – विकाश | २०७७ बैशाख २४, बुधबार

प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा मनाईँदै आएको मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु यस वर्ष स्थगित भएको छ । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण र देशमा जारी लकडाउनका कारण यस वर्षको ५औँ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको हो । 

नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको अगुवाइमा विगत पाँच वर्षदेखि प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्म जयन्तीको अवसर पारेर हरेक वर्षको बैसाख शुक्ल चतुर्दशीका दिन मातृभाषा पत्रकारिता दिवस मनाईँदै आएको थियो । 

कोरोना भाइरसको संक्रमणबाट जोखिमबाट सुरक्षित रहन लकडाउनको आदेश पालना गर्दै मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पत्रकार दबूले जनाएको छ । 

विज्ञप्ती जारी गर्दै दबूले दिवसको अवसरमा आयोजना गर्दै आएको र्‍याली, धर्मादित्य धर्माचार्यको प्रतिमामा माल्यार्पण, सभा तथा मातृभाषा सम्मेलन लगायतका कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । 

पत्रकार दबू ललितपुर शाखाबाट दिँइदै आएको धर्मादित्य पत्रकारिता पुरस्कारको घोषणा पनि यो वर्ष स्थगित गरिएको र मातृभाषा पत्रकारिता सम्मेलनको साथै पुरस्कारको घोषणा पनि सापेक्ष समयमा गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘नेपालकै प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई राज्यले समेत पहिचान गर्नुपर्छ । प्रथम मातृभाषी पत्रकारको रुपमा उहाँलाई स्थान दिनुपर्छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाँच वर्ष अघि नेवाः पत्रकार राष्ट्रिय दबूबाट आयोजना भएको मातृभाषा पत्रकारिता दिवसमा पछिल्लो आदिवासी जनजाति पत्रकार महासंघ र महासंघमा आवद्ध विभिन्न भाषिक पत्रकार सम्वद्ध संघसंस्थाको साथै मधेसी पत्रकार समाजले समेत ऐक्यवद्धता जनाउँदै आएको छ ।

 

धर्मादित्यको संक्षिप्त परिचय

राणाकालमा अभिव्यक्ति स्वतन्त्रतामा ठुलै अंकुश लागेको बेला झन् मातृभाषामा केही लेखिनु पनि ठुलै अपराध सरह मानिन्थ्यो । 

यस्तै परिस्थितीका बीच ९५ वर्ष अघि ने.सं. १०४५ मा बुद्ध जयन्तीको अवसर पारेर भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले ‘बुद्धधर्म’ नामक धार्मिक पत्रिका नेपालभाषाबाट प्रकाशन गरेका थिए । दुई वर्ष पछि सोही पत्रिकालाई ‘बुद्ध–धर्म व नेपालभाषा’को नाउँबाट धार्मिक साथै साहित्यिक पत्रिकाको रुपमा प्रकाशित गरिएको थियो ।

प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको जन्म ने.सं. १०२२ वैसाख शुक्ल चतुर्दशीमा ललितपुरको सप्तपुर महाविहार, चिकंबहिमा भएको थियो । 

उहाँले नेपाली भाषाको ‘हिमाली बौद्ध’, अंग्रेजी भाषाको ‘बुद्धिष्ट इण्डिया’ पत्रिका समेत प्रकाशन गरेका थिए ।

उहाँलाई नेपालका बौद्ध जगतका प्रथम सुधारवादी ब्यक्तित्व, किन्दो विहारका जीर्णोद्धारका मुख्य आयोजक, नेपालमा बुद्धजयन्ती मनाउने प्रचलनका प्रणेताको रुपमा पनि स्मरण गरिन्छ भने काठमाडौं उपत्यकामा बुद्धधर्म उद्धार संघ, बुद्धोपासक संघ, बुद्धोपासिका संघ, कलकत्तामा नेपाली बुद्धमार्गी संघ, दार्जिलिङ्गमा कन्या विद्यालय स्थापनामा पनि उनको योगदान रहेको छ । 

यसको साथमा कालिम्पोंगमा उपासक संघ बनाएर पुस्तकालय शुरु गरेका, कलकत्ता र पटनास्थित विश्वविद्यालयमा नेपालभाषा अध्यापनको प्रयास गरेका ब्यक्तिको रुपमा पनि उहाँलाई चिनिन्छ ।

Categorized in राष्ट्रिय