arin enterprises

सम्पदा यात्रामा सुन्दरीहरु

SamacharDesk | २०८० जेठ २८, आइतबार

हालै मात्र संचालन भएको सम्पदा यात्रा गराउने बस चढेर मिस नेपाल २०२३ का विजेताहरुले काठमाडौंको सम्पदाहरुको अवलोकन गरेका छन् ।

शनिवार साझाको  ‘हप अन हप अफ’ बसमा चढेर उनीहरुले काठमाडौं उपत्यका सम्पदाहरुको यात्रा गरेका हुन । 

काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको सम्पदा घुम्ती बस सेवामार्फत उनीहरुले नारायणहिटी, पशुपतिनाथ, बौद्ध र स्वयम्भुको भ्रमण गरेका हुन् ।

ललितपुरबाट सुरु गरिएको यात्रामा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रेना मजगैया, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ सहभागी थिए ।

सम्पदा क्षेत्रको भ्रमणपछि प्रतिक्रिया दिंदै उनीहरुले पर्यटन बोर्डले साझासँग सहकार्य गरी सुरु गरेको यो बस सेवाले आन्तरिक तथा बाह्य पर्यटकलाई काठमाडौंका सम्पदा घुम्न सहज हुने तथा यसबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौंमा दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी गत ९ जेठदेखि सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ ।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालनमा रहेका छन् ।

Categorized in राष्ट्रिय