सुनको जलहरी १० केजी नै भएको कोषको दावी
SamacharDesk | २०८० जेठ ३०, मंगलबार

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनु भएको हो ।
उहाँले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताउनु भयो । आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँशु झार्नु भयो ।
आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्य समेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले राज्यको नीति यहीँ हो ? भनि प्रश्न समेत गर्नु भयो ।
सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दूरपयोग गरेर बाँच्नु नपर्ने पनि बताउनु भयो । उहाँले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनि सांसदहरुसँग जिज्ञासा समेत राख्नु भयो ।
सदस्य सचिव थापाले भन्नु भयो, ‘राज्यको पनि कहिलकाँही मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुुँदो रहेनछ कि जस्तो लाग्छ । मैले यो क्षमासाथ भने । मलाई दुःख लाग्छ । जहाँसम्म यो सुनको जलहरीको कुरा हो ।
म एउटा आध्यात्मा सेक्टरमा लागेको व्यक्ति । भगवान पशुपतिनाथको कृपाले कोषाध्यक्ष भएर फेरी सदस्य सचिव बन्ने मौका पाए । मेरो प्रोफेशनल स्किल आफ्नै छ । र, मलाई धेरै जनाले सायद चिन्नुपनि हुन्छ होला । मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन । खादिन ।’
उहाँले भन्नुभयो, ‘९६ किलो ८२२ ग्राम सुन तयार भईसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल होल्यो कि चाँदी होल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु ।’
सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताउनु भयो ।
त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उहाँको दावी थियो ।
बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।
Categorized in राष्ट्रिय