arin enterprises

आज विश्व रक्तदाता दिवस

SamacharDesk | २०८० जेठ ३१, बुधबार

आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस वर्ष नारा ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने रहेको छ । 

यस वर्षको नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ ।

यसले नियमितरूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारेसमेत चर्चा गरेको छ ।

यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।

पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्यसभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो ।

यस वर्ष रक्तदाता दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा ब्लड डोनर्स एशोसिएन नेपाल (ब्लोदान) मा विभिन्न संघसंस्थाहरुले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ ।

यसै सन्दर्भमा ब्लोदान ललितपुर शाखाले ललितपुरमा बुधबार रक्तदान सम्बन्धि जनचेतना र्‍याली सम्पन्न गरिसकेको छ । त्यस्तै विहिबार ब्लोदान काठमाडौं जिल्ला र पूर्वी भेगीय क्षेत्रले काठमाडौंको कोटेश्वरमा जनचेतना र्‍याली गरेको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार परोपकार प्रशुती गृह तथा स्त्रीरोग अस्पतालले अस्पताल परिसर थापाथलीमा स्वयमसेवी रक्तदानः रगत व्यवस्थापनमा कठिनाई र चुनौती विषयक कार्यक्रम आयोजना गर्दैछ ।

शनिबार ब्लोदान मध्य क्षेत्र र जोशी समाजले बसन्तपुरमा रक्तदान कार्यक्रम गर्दैछ भने सहयोगी महिला जागरण मञ्चले मैतीदेवीमा रक्तदान कार्यक्रम गर्दैछ । दुवै रक्तदान कार्यक्रम बिहान १० बजेबाट सुरु हुने बताइएको छ ।

त्यसैगरी, शनिबारकै दिनमा ब्लोदान मध्य क्षेत्रले साइकल र्‍याली कार्यक्रमको आयोजना गर्दैछ । र्‍याली चःमति चोकबाट बिहान ७ बजे सुरु हुनेछ ।

जेठ २८ गते आइतबार तारकेश्वरस्थित रोजमेरी आइडल बोर्डिङ स्कूलले उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगीताको आयोजना गर्दैछ ।

सोमबार ब्लोदान भक्तपुर शाखाले भक्तपुरमा स्वयमसेवी रक्तदानः महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

मंगलबारका दिन भक्तपुर मोडर्न इङ्गलिस स्कूलले भक्तपुरमा उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ भने तारकेश्वरमा रोजमेरी स्कूलले रक्तदान कार्यक्रम गरेको छ । 

Categorized in राष्ट्रिय