arin enterprises

गोरखामा जन्ती बोकेको जीप दुर्घटना

SamacharDesk | २०८० आषाढ ८, शुक्रबार

गोरखाको शहीद लखन गाउँपालिकामा गएराती जीप दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । उनीहरु सबैको सनाखत भएको छ ।

मृत्यु भएका एक महिला र चार पुरुष गरी पाँचै जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय गोरखाकाले जनाएको छ ।

मृत्यु हुनेमा शहिद लखन गाउँपालिका–५ ताक्लुङ पोखरी डाडाँ बस्ने १९ वर्षीय प्रविन थापा, २८ वर्षीय बिरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकी नविना थापा र वर्षीय ६४ का धनबहादुर थापा रहेको जनाएको छ । 

गएराती शहीद लखन गाउँपालिकाको ताक्लुङबाट चिलिङकोटमा विवाहको टीकाटालो गर्न गएर फर्किंदै गरेको गाडी राती १ बजे दूर्घटनामा परेको हो ।

आज विहान घटनास्थल पुगेको प्रहरीले पाँच जनाको मृत्यु भएको जनाएको हो । प्रहरीका अनुसार शहिद लखन(३ को सिलिङकोटबाट बेहुली लिएर शहिद लखन गाउँपालिका-५ को ताक्लुङतर्फ फर्कने क्रममा प्रदेश नम्बर ३-०१-०२३ च ४४२७ नम्बरको जन्ती चढेको जिप दुर्घटना भएको थियो।

घाइते अवस्थामा उद्धार गरिएका १२ जना मध्ये गम्भीर अवस्थाका चार जनालाई उपचारका लागि चितनव पठाइएको र आठ जनालाई तनहुँको खैरेनी पठाइएको छ छ ।

दुई जनाको सकुशल उद्धार गरिएको छ । टीकाटालोका लागि तीन वटा गाडी गएकोमा एउटा दूर्घटनामा परेको बताइएको छ । गाडी सडकबाट दुई सय मिटर तल खसेको थियो ।

भिरालो धेरै भएकोले उद्धारमा कठिनाई भईरहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयले उद्वार गरेको समाचार छ ।

जिप कच्ची सडकबाट दुई सय ५० मिटर तल खसेको हो । प्रहरीका अनुसार  शव यत्रतत्र छरिएकाले उद्वारमा कठिनाई भएको जनाएको छ भने घाइतेहरुमध्ये सबैजना शहिद लखन ५ पोखरी डाँडाका हुन् ।

लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक राना घाईते भएको जनाएको छ ।

Categorized in राष्ट्रिय