arin enterprises

चाँपबाट उत्पत्ति भएका चाँगुनारायणलाई चढाइयो चाँपको फूल

SamacharDesk – आभास राजोपाध्याय | २०८० आषाढ ११, सोमबार

भक्तपुरको चाँगुनारायणमा आज सोमबार चम्पकारोहण पर्व मनाइएको छ ।

यस क्रममा विशेष पूजासहित नारायण, लक्ष्मी, सरस्वती र गरुडलाई चाँपको फूल चढाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल अष्टमीका दिन वैदिक र तान्त्रिक विधिबाट यो पर्व मनाइन्छ ।

यस पर्वमा नित्य पूजाकै क्रममा चाँगु नारायणलाई ६ घडा दूध र दहीले स्नान गराइन्छ र शृङ्गारका क्रममा चाँपको फूल अर्पण गरिन्छ ।

पर्वकै क्रममा छिन्नमस्तामा त्यहाँका पुजारी प्रचण्डमान कर्माचार्यले तान्त्रिक विधिबाट बलिसहित पूजा गरेका थिए । त्यस्तै, मन्दिर प्राङ्गणमा अवस्थित कान्ति भैरव, नासःद्यः र द्विमाजु देवीलाई हाँस बलि दिइएको थियो ।

चाँपबाटै चाँगुनारायणको उत्पत्ति

चाँगुको नाम आफै चम्पक अर्थात् चाँपको रूखसँग सम्बन्धित छ ।

नेपाल भाषामा ‘चँ’ अर्थात् चाँप र ‘गुँ’ अर्थात् वन जोडेर चँगुँ हुँदै चाँगु नामकरण भएको पुजारी चक्रधरानन्द राजोपाध्याय बताउँछन् ।

नेपाल माहात्म्य र विभिन्न वंशावलीअनुसार पनि चाँपको रूखको फेदबाट निस्केर देवताले सुदर्शन ब्राह्मणको गाईको दूध चोरेर खाँदा ब्राह्मणले शिर छिन्न गर्दा चाँगुनारायणको उत्पत्ति भएको वर्णन पाइन्छ ।

चाँपको फूलको महत्त्व

हिन्दु र बौद्ध धर्म दुवैमा चाँपलाई महत्त्वपूर्ण मानिन्छ । यसलाई स्वर्गको रूख मानिन्छ र चाँपको रूख रोप्ने, यसको स्याहार गर्नेले स्वर्गमा स्थान पाउने विश्वास गरिन्छ ।

यो फूल भगवान् नारायण र श्रीकृष्णको अति प्रिय मानिन्छ । यस फूललाई कामदेवसँग पनि जोडिएको पाइन्छ ।

तसर्थ, यसको तान्त्रिक पूजामा पनि उत्तिकै महत्त्व भएको मानिन्छ ।

केही कथाअनुसार यो फूल शिवलाई प्रिय भए पनि शिवलिङ्ग पूजामा नचल्ने बताइएको छ ।

तिब्बती परम्परामा भने भविष्यका बुद्धले चम्पक वृक्षको सेतो फूलले ढाकेको अवस्थामा बुद्धत्व प्राप्त गर्ने मानिएको छ ।

यस फूललाई सुगन्धका लागि पनि प्रयोग गरिन्छ भने आयुर्वेदीय उपचारमा यस फूललाई घाउ, चोटपटक वा शरीरभित्रका अङ्गमा पोल्नेजस्ता समस्या हुँदा प्रयोग गरिन्छ ।

Categorized in संस्कृति