दुषित पानीबाट झाडापखालाका विरामी बढ्यो
SamacharDesk | २०८० आषाढ २४, आइतबार

केहिदिन यता बर्षा सक्रिय हुँदा पानीजन्य रोग पैmलिन थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको अनुगमनमा पानीका विभिन्न स्रोतहरुमा फेकल कोलीफर्म भेटिएको जानकारी गराएको छ ।
सबैभन्दा बढी इनारको, त्यसपछि धारा, ट्यांकर, मेलम्ची र जारको पानीमा फेकल कोलीफर्म भेटिएकोे महाशाखाले जनाएको छ । जसका कारण पानीजन्य रोगको प्रकोप बढेको जनाइएको छ ।
फेकल कोलीफर्ममा विशेषत ईकोलाई नामक जीवाणुले कडा झाडापखाला तथा मिर्गौला समेत असर गराउने महाशाखाले जनाएको छ ।
विगतमा पनि बजारमा उपलब्ध खानेपानीमा फेकल कोलीफर्मको मात्रा अत्यधिक पाइएकोले केही दिनयता समुदायमा झाडापखालाका बिरामीको संख्या बढ्दो छ । देशका विभिन्न भागमा टाउको दुख्ने, ज्वरो आउने झाडापखाला हुने जस्ता समस्या देखिएका छन् ।
केही जिल्लामा यसखाले समस्याले विद्यालयमा नियमित पठन पाठन पनि हुन छाडेको छ । उपत्यकामा भने पानीको स्रोतमै कोलीफर्म पुष्टि भइसकेपछि यसले जोखिम निम्त्याउने डर रहेको छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार पानीमा फेकल कोलीफर्म देखिएको अवस्थामा हैजाबाहेक दिसाजन्य अरु संक्रामक रोग पनि फैलन सक्ने जोखिम उच्च हुने गर्दछ ।
हेपाटाईटिस पनि संक्रमितको दिसाबाट सर्ने गर्दछ । गर्मी महिनामा पानीको माग अत्यधिक हुने र त्यसलाई पुरा गर्न खानेपानी कम्पनीहरुले पानीको शुद्धतामा ध्यान नदिँदा पानीमा फेकल कोलीफर्म देखिने गर्दछ ।
त्यस्तै, घरमा पनि पानीको गुणस्तरमा बेवास्ता भएको खण्डमा यसले प्रकोप निम्त्याउने बताउनु हुन्छ । तसर्थ पानीलाई राम्ररी उमालेर पिउने तथा जार तथा बोतलका पानी पनि शुद्ध पारेर वा कम प्रयोग गर्न आग्रह गरेका छन् ।
Categorized in राष्ट्रिय