arin enterprises

साउने ब्रत प्रारम्भ

SamacharDesk | २०८० आषाढ २५, सोमबार

तिथि अनुसार साउने सोमबारको व्रत आजदेखि शुरु भएको छ ।

साउने ब्रत शुरु हुने भएपछि पशुपतिनाथलगायत देशभरका शिव मन्दिरहरुमा दशनार्थीको भीड बढेको छ । पशुपति क्षेत्र विकास कोषले साउने ब्रतका लागि सबै तयारी गरिएको जनाएको छ ।

साउने सोमबारका लागि देशका विभिन्न भाग र भारतबाट समेत दर्शनार्थीहरु पशुपति दर्शनका लागि आउने गर्दछन् । यस वर्ष साउनको पहिलो सोमबारलगत्तै अधिकमास शुरु हुने भएको छ ।

साउन २ गतेदेखि अधिकमास शुरु हुनेछ । अधिकमास परेको भएपनि साउने ब्रतका लागि कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरुले बताएका छन् । आजको दिनदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गर्दछन् ।

विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिनाभर भगवान शिवको विशेष ब्रत बस्ने चलन रहेको छ । साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने र अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउनको महिनामा बिबाहित वा अबिबाहित महिलाहरुले हातमा हरियो चुरा लगाउने साथै हरियो रंगको कपडा लगाउने र हातमा म्हेन्दीको मनमोहक शृंगार गर्ने गर्दछन ।

विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो भने हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ । हिन्दु धर्ममा महिलाले हरियो चुरापोते, हरियो कपडा र मेहन्दी लगाएमा बुध ग्रह प्रशन्न भई घरमा समृद्धि र शुभ हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।

त्यसैले श्रावण शुक्ल पक्षको तृतीया तिथिको दिन हरियाली तीज पनि भन्ने गरिन्छ ।

Categorized in संस्कृति