‘सलिना’ नेपालको पहिलो एनिमेटेड चलचित्र भएको दाबी
SamacharDesk | २०८० श्रावण १६, मंगलबार

एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र ‘सलिना’को टिजर सार्वजनिक भएको छ ।
रेनमेकर एनिमेसन एकेडेमीले विगत पाँच वर्षदेखि निर्माण गर्न थालेको चलचित्रको टिजर शुक्रबार सार्वजनिक गरिएको हो ।
चलचित्रका सम्पादक शिव पुरीले ‘सलिना’लाई नेपालकै पहिलो एनिमेटेड चलचित्र भएको दाबी गरेका छन् । हामीले चलचित्र दर्ता गरेर सेन्सर पनि पाइसकेका छौं । अहिलेसम्म कुनै पनि एनिमेटेड चलचित्र दर्ता नभएकाले ‘सलिना’ नै पहिलो बनेको हो” पुरीले भने । यो चलचित्र पूर्ण रुपले तयार भइसकेको र दशैसम्म सिनेमा हलमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको पुरीले जानकारी दिए ।
पुरीका अनुसार चलचित्र दन्त्य कथामा आधारित छ । यसको मुख्य पात्र राजकुमारी सलिनाले अरु पात्रहरूसँग मिलेर एक राक्षसलाई हराउने अभियानमा यात्रा सुरु गर्छिन् । यसैको सेरोफेरोमा चलचित्रको कथा अगाडि बढ्छ ।
दन्त्य कथामा आधारित सुरुमा यो चलचित्र बालबालिकालाई लक्षित गरेको जस्तो लागे पनि विस्तारै सबै उमेर समूहका दर्शकले चलचित्र आफ्नै लागि बनेको आभास गर्नसक्ने पुरीले बताए ।
उनका अनुसार सानो टिमबाट तयार भएको यो चलचित्र बन्न पाँच बर्ष लाग्यो । आफूले तयार पारेको यो पहिलो चलचित्र भएकाले धेरै समय लागेको र विस्तारै सिक्दै यस चलचित्रलाई सुधार्दै लगि अहिले चलचित्र सार्वजनिक हुने तयारीमा रहेको छ ।
यस चलचित्रमा नेपाली भाषा नै प्रयोग भएको छ भने हिन्दी र अङ्ग्रेजी भाषामा डबिङको तयारी भइरहेको छ ।
यो चलचित्रलाई तेजस राज जोशीले निर्देशन गरेका छन् । त्यस्तै निर्माताको रुपमा तेजस राज जोशी र श्रुति श्रेष्ठ रहेका छन् ।
शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रूपमा यसलाई सम्पादन गरेका छन् । त्यस्तै चलचित्रको ग्राफिक डिजाइनिङ सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरले गरेका छन् ।
Categorized in पेजथ्री