जय जय जय लाखय्’को अर्को म्यूजिक भिडियो सार्वजनिक
SamacharDesk – राजीब किलंनं श्रेष्ठ | २०८० श्रावण २८, आइतबार

एनिमेटेड चलचित्रमा आउँदै लाखय् लाखय् भन्ने वित्तिकै धेरैलाई ईन्द्रजात्राकै याद आउला । ईन्द्रजात्राको क्रममा कुमारीको रथ अगाडी रातो झ्याप्प कपाल, रातै मुकुण्डो र रातै जामामा लाखय् दौडिँदै आउने दृश्य कम रोमान्चक हुँदैन ।
कत्तिले लाखयलाई राक्षस भन्ने गर्छन् । राक्षसकै अपभ्रम्स हुँदै राक्षस–लाखस–लाखय् हुन गएको पनि भनाई छ भने कसैले लाखय् राक्षस नभई रक्षक भनेर पनि भन्ने गरेका छन् । जे होस्, यहाँका नेवार समुदायले लाखय्लाई आफ्नो पुर्खा मानेर लाखय् आजु भन्ने गरेका छन् ।
अब यिनै लाखयलाई एनिमेटेड चलचित्रमा हेर्न पाइने भएको छ । स्थानीय समाजमा प्रचलित यिनै लाखय्को लोककथालाई लिएर लन्डनमा बस्दै आएका संयुक्त श्रेष्ठले एनिमेटेड चलचित्र जय जय जय लाखय् निर्माण गरिरहेका छन् ।
शनिबार एक कार्यक्रमका बिच यस चलचित्रको दोश्रो गीत ‘हाकू सुपाँययात हे याउँक चीकेफुम्ह’ सार्वजनिक गरिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वरिष्ठ कलाकार हास्य सम्राट मदनकृष्ण श्रेष्ठ, मानव अधिकारकर्मी मल्ल के. सुन्दर लगायतका व्यक्तित्वको उपस्थितीमा गीत सार्वजनिक गरिएको थियो ।
‘नेवा समुदाय भित्रको रोचक, कौतूहलपूर्ण दन्त्यकथा र जात्रा परम्पराको एक अभिन्न अंग लाखेय् संस्कृतिलाई एनिमेटेड फिल्मको माध्यमबाट डिजिटल विश्वमा पु¥याउने प्रयास हो जय जय लाखय्’ चलचित्रका निर्माता संयुक्त श्रेष्ठले भने ।
सार्वजनिक गरिएको गीतमा स्वर सतिश महर्जनको रहेको छ भने संगीत विश्व शाहीले दिएका छन् । शब्द संयुुक्त श्रेष्ठकै रहेको छ । चलचित्रमा कथा शताब्दी पुरुष स्व. डा. सत्यमोहन जोशीको रहेको छ ।
यस चलचित्रको गीत ‘म्हां जितः हायेके मते’ यस अघि नै सार्वजनिक भइसेकेको छ ।
श्रेष्ठले यस अघि नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाःलाई लिएर एनिमेटेड चलचित्र ‘दि लिजेन्ड अफ शंखधर’ निर्माण गरिसकेका छन् ।
फोटोः राजीब किलंनं श्रेष्ठ
Categorized in पेजथ्री