नवलपरासीमा एकजनामा संक्रमण पुष्टि, संक्रमित संख्या २४६
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १, बिहिबार

नवलपरासीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
नवलपरासी देवचुली नगरपालिका १२ वडाका ४९ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा उनमा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमित संख्या २४६ पुगेको छ ।
यसअघि कपिलवस्तुकी ६ वर्षीया बालिका र चन्द्रागिरी नगरपालिकाका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
सबैको स्वास्थ्य सामान्य रहेको र चिकित्सको सम्पर्कमा रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमित संख्या सच्यायो
यस अघि स्वास्थ्य मन्त्रालयले ५ जना संक्रमित थप भएको भनेकोमा ती पाँच जना नयाँ नभई पहिल्यै पुष्टि भइसकेका संक्रमित दोहोरिएको बताएको छ ।
अघिल्लो विज्ञप्तिमा संक्रमितको संख्या २५० पुगेको भनिएतापनि पछि पुनः अर्को सुचना प्रकाशित गरी संक्रमितको संख्या २४५ नै रहेको जनाएको थियो ।
बिहिबार बिहानै मन्त्रालयले पहिलो विज्ञप्ती जारी गर्दै २ जनामा संक्रमण पुष्टि भएर संक्रमित संख्या २४५ पुगेको जनाएको थियो ।
दोश्रो विज्ञप्ती जारी गर्दै मन्त्रालयले ५ जना संक्रमण थप भई २५० पुगेको भनेको थियो ।
पुनः तेश्रो विज्ञप्ती सार्वजनिक गर्दै मन्त्रालयले पछिल्लो विज्ञप्तिमा थपिएका ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको भन्दै आँकडा सच्याएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिका–१० लालगढका २० वर्षीया युवती, महोत्तरीको जलेश्वर नगरपालिकाका–३५ वर्षीय पुरुष तथा महोत्तरीकै बलवा नगरपालिकाका–१६ वर्षीय बालक र सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलका ४५ वर्षीय पुरुषको पुनः रिपोर्टिङ भएको मन्त्रालयले जनाएको छ ।
पाँचै जनालाई बुधबारै प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा ल्याइसकिएको थियो ।
Categorized in राष्ट्रिय