‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक
SamacharDesk | २०८० भाद्र १, शुक्रबार

भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक तीन पोस्टरमा अभिनेता विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ । शुक्रबार सार्वजनिक सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन् । यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ । सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ ।
त्यस्तै, पोस्टरमा विपिन कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।
सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कथा निर्देशक झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।
सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिेकको संगीत रहेको छ ।
सिनेमाको प्रचारको आरम्भ पोस्टरबाट गरिएको निर्माता सुनिल कुमार थापाले बताए । झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनको चौंथो निर्देशकीय सिनेमा हो ।
सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।
Categorized in पेजथ्री