arin enterprises

‘लिटिल स्टार नेपालभाषा’ गीत प्रतियोगिता हुने

SamacharDesk – Ram Dangol | २०८० भाद्र ८, शुक्रबार

इन्द्रजात्राका अवसर पारेर ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा बिहीबार प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय ७५ हजार, तृतीय ५० हजार, सान्त्वना २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिने छ ।

सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिने छ । ललितपुर मनपा कलाकार समितिले वरिष्ठलाई सम्मानदिने उद्देश्यसाथ ‘ललितरत्न’ उपाधि अर्पण गर्दै आएको छ ।

यसैगरी, विगत तीन वर्षदेखि गीत तथा नृत्य प्रतियोगिता, कला पाठशाला, इन्द्रजात्राको अवसरमा सांस्कृतिक कार्यक्रम, होलीया मेला, श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत उत्सव, न्हूदँया भिंतुना सांस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ ।

प्रतियोगीहरुले आफ्नो गीतको रकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाहरु अडिशन राउण्डमा प्रस्तुत गर्नेछन् भने अडिशन राउण्डबाट छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुने जानकारी गराइएको छ ।

यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने नियम पनि राखिएको छ । प्रतियोगितामा सहभागी हुन आजैबाट फाराम बुझाउन सकिने पनि आयोजकले जनाएको छ ।

नेवाः भोजसहितको यो प्रतियोगिता कार्यक्रमको जानकारी कलाकार समितिको फेसबुक पेजबाट लिन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

यस प्रतियोगिताका संयोजक तथा गायक सुरजवीर बज्राचार्यले आयोजकलाई पठाएको अडियो, भिडियो हेरेपछि मात्र आयोजकले अडिशन राउण्डमा बोलाउनेछ र सो चरणमा सफल प्रतियोगी समूहमात्र लिटिल स्टार नेपालभाषा गीत प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिनुभएको छ ।

सो अवसरमा प्रतियोगितामा वरिष्ठ कलाकार र ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

Categorized in पेजथ्री