arin enterprises

५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदै

SamacharDesk | २०८० भाद्र २२, शुक्रबार

आज ५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४औँ सत्रमा घोषणा गरेको थियो। सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो।

यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो। विभिन्न देशहरूमा यो उत्सव मनाइने गरिन्छ।

नेपालमा भने तत्कालिन राजा वीरेन्द्रले विक्रम सम्वत् २०३९ साल फागुन १२ गतेको दिनमा प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेका दिनदेखि हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाइदै आएको थियो भने गणतन्त्रको घोषणा भएसँगै अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिनमा मनाउन थालिएको हो।

यो वर्षको नारा ‘दिगो र शान्तिपूर्ण समाज निर्माणका लागि साक्षरताको प्रवद्र्धन’ भन्ने रहेको छ ।

नेपाल सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्यका साथ पहिलो पटक २०६५ सालमा साक्षरता अभियानको शुरुवात गरेको थियो ।

तर १५ वर्ष बितिसक्दा पनि अझै मधेस प्रदेशका ८ सहित १४ वटा जिल्ला पूर्ण साक्षर घोषणा हुन सकेका छैनन् । यस्तै देशभर एक सय ६१ वटा पालिका साक्षर घोषणा हुन बाँकी छ ।

सरकारले आर्थिक वर्ष २०८०÷०८१ भित्र नेपाललाई साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखेको छ । पछिल्लो तथ्यांकअनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव २ प्रतिशत रहेको छ ।

Categorized in राष्ट्रिय