एक महिना नहुँदै ब्राजिलका अर्का स्वास्थ्यमन्त्रीको राजीनामा
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ३, शनिबार

ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले कार्यभार सम्हालेको एक महिना नहुँदै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
कोरोनाको महामारीमा हटस्पट बन्दै गएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमण नियन्त्रण गर्न असफल भएपछि टेचले पदबाट राजीनामा दिएको बताइएको छ ।
तर स्वास्थ्य मन्त्री टेचरले आफ्नो राजीनामापत्रमा कुनै कारण भने नखुलाएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो ।
पछिल्लो समयमा ब्राजिलियन राष्ट्रपति जेयर बोल्सोनारो र टेचबीच कोरोना नियन्त्रणकै विषयलाई लिएरु निर्णय समर्थन नगरेका कारण मतभेद रहँदै आएको थियो ।
राष्ट्र«पति बोल्सोनारोले कोरोना भाइरसविरुद्ध लड्न प्रमाणित हुन नसकेको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गर्न सुझाउँदै आएका छन् । तर, टेच भने यसको विपक्षमा रहँदै आएका थिए ।
सरकारले केही दिनअघि मात्र ब्युटी पार्लर र व्यायामशालाहरु खोल्न अनुमति दिएसँगै स्वास्थ्यमन्त्री टेचको सर्वत्र आलोचना भएको थियो ।
साथै बोल्सोनारोको लकडाउन खुकुलो बनाउँदै आर्थिक गतिविधि पुनः शुरु गर्ने निर्णयमा पनि उनी असन्तुष्ट रहँदै आएका थिए ।
पछिल्लो समय ब्राजिलमा संक्रमितको संख्या बढ्दै गइरहेको छ । बिहीबार मात्रै जर्मनी र फ्रान्सलाई पछि पार्दै ब्राजिलमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको थियो ।
अहिलेसम्म आइपुग्दा ब्राजिलमा संक्रमितको संख्या २ लाख २० हजार भन्दा बढि छ ।
यहाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५ हजारको निकै नजिक पुगिसकेको छ ।
अहिले ब्राजिल कोरोनाभाइरस संक्रमणबाट बढि प्रभावित देशको सूचीमा छैठौँ स्थानमा छ ।
ब्राजिलमा एक महिनाभन्दा कम समयमै दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । यसभन्दा अघि तत्कालीन स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई राष्ट्रपतिको निर्देशन पालना नगरेको भन्दै बर्खास्त गरिएको थियो ।
योसँगै प्रतिपक्षी दलहरुबाट विरोध पनि शुरु भएको छ ।
राष्ट्रपतिले कोरोना महामारीको बेलामा पनि पटक पटक मन्त्रिमण्डल हेरफेर गरेको भन्दै महाअभियोग लगाउन माग गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय