arin enterprises

भारतले पनि एक क्यानडाली कूटनीतिज्ञलाई देशबाट निकाल्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ३, बुधबार

भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

क्यानडाले पृथकतावादी खालिस्तान नेता हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई भारत छाड्न आदेश दिएको हो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एकजना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै क्यानडाली कुटनीतिज्ञलाई भारत छोड्न भनेको बताएका छन् । प्रवक्ता बागचीले  विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाइ रहेको भारतमाथि क्यानडाले लगाएको आरोपलाई आधारहीन भएको टिप्पणी गरे ।

यो निर्णयले भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको बताइएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुडोले संसद्को आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए।

Categorized in अन्तर्राष्ट्रिय