देविकाको सुमधुर गीतसँगै क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
SamacharDesk – बिराज | २०८० आश्विन २१, आइतबार

चर्चित गायिका देविका वन्दनाको सुमधुर गीतहरुसँगै भक्तपुरमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
दीक्षा गौरी हाडा स्मृति प्रतिष्ठान र लायन्स क्लब अफ भक्तपुरले क्यान्सर सचेतना महोत्सव तथा देविका वन्दना सांगीतिक साँझ २०८० आयोजना गरेको हो ।
कार्यक्रममा क्यान्सरलाई जित्न सफल गायिका देविका वन्दनाले आफ्ना गीतहरु प्रस्तुत गरेकी थिइन् भने क्यान्सर विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले क्यान्सर रोगको बारेमा जानकारी राखेका थिए ।
गायिका बन्दनाले आफ्नो लोकप्रिय गीत ‘यस्तै रहेछ यहाँको चलनको साथमा ‘भरे आउँछु सपनीमा’, ‘अच्छा लेकिन लण्डनको जाडोले’, ‘ए संगिता’ लगायत १३ वटा आधुनिक तथा चलचित्रका गित प्रस्तुत गरेकी थिइन् ।
साथमा भक्तपुरका स्थानीय कलाकारहरु सत्य नारायण प्रजापति, रवि हाडा, राजेश महर्जन, कपिल कसपालले पनि गायिका वन्दनलाई साथ दिएका थिए ।
साथै रञ्जना सितिखु, राज माकः, रश्मी खत्रीको समूह, सन्ध्या व्यान्जु र अंकित किसी लगायतका कलाकारहरुले गीतसँगै नृत्य पनि प्रस्तुत गरेका थिए ।
डा. उत्सवमान श्रेष्ठ, डा कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सर, डा. अनु बज्राचार्यले सर्भाइकल क्यान्सर, डा विजेश राज घिमिरेले पोषण र जीवनशैली, डा सुवर्णमान तुलाधरले फोक्सोको क्यान्सर, डा. श्रीकृष्ण कासिछ्वाले पेडियट्रिक क्यान्सरका बारेमा सचेतनामूलक जानकारी राखेका थिए ।
सोही अवसरमा हालै काठमाण्डौँमा सम्पन्न ५५औ एसियन शारीरिक सुगठन प्रतियगितामा स्वीमिङसुट फिजिक्समा स्वर्ण पदक जित्न सफल सनम मुलगुठीलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, लायनको डिष्ट्रिक्ट गर्भनर ३२५ जी लायन दिपक कृष्ण प्रजापति, वरिष्ठ संगीतकार दिपक जंगम, वरिष्ठ रचनाकार सुभाषचन्द्र ढुंगेल, वरिष्ठ गायक एवम् संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानलगायत भक्तपुरका स्थानीय कलाकार, एवम् लायन्सका सदस्य, उद्योगी, व्यवसायी, समाजसेवी लगायतको सहभागिता थियो ।
