arin enterprises

उद्धार कार्य छिटो नभएपछि नेपाली विद्यार्थीहरु आक्रोशित

SamacharDesk | २०८० आश्विन २४, बुधबार

इजरायल र प्यालेस्टाइनको युद्धमा फसेका नेपालीको उद्धारका लागि सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

इजरायलमा मृत्यु भएका १० जनाको शव ल्याउन र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले यसअघि नै निर्णय गरेको थियो ।

उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भएको थियो । हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।

सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरूका लागि अनलाइनमार्फत रजिष्ट्रेसन फर्म खुला गरेर विवरण संकलन गरिरहेको छ । नेपाली दूतावासका अनुसार हालसम्म करिब चार सय नेपाली नागरिकले नेपाल फर्किन चाहेका छन् ।

तर शनिबारदेखि त्रासदीपूर्ण वातावरणमा आफू बसिरहे पनि नेपाल सरकारले समयमै नेपाल फिर्ता लिन नसकेको गुनासो नेपाली विद्यार्थीहरूको छ ।

हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्रबाट ईजिप्टको सीमाना नजिकै सुरक्षित स्थानमा सारिएका नेपाली विद्यार्थीले सरकारले नेपाल फिर्ता हुनका लागि लगातार आग्रह गर्दा पनि सरकारले ‘बैठक बसेर, निर्णय गर्दैछौँ’ भनेर टारिरहेको भन्दै आक्रोशित भएका छन् ।

उनीहरुले आफूसँगै आएका थाइल्यान्ड र कम्बोडियाका १४(१५ जना विद्यार्थीलाई उनीहरू देशले जहाज ल्याएर उद्धार गरिसकेको, तर आफ्नो भने अझैँ टुंगो नलागेको उनीहरूको गुनासो छ ।

“हामीलाई पनि १० जना साथीजस्तै विलिन भएको हेर्न चाहेको हो ?” भन्दै सरकारसँग चाँडै उद्धार गर्न आग्रह गरेका छन् ।

Categorized in राष्ट्रिय