पूर्व राष्ट्रिय फुटबलर रञ्जितको तेश्रो रिपोर्टमा कोरोना नेगेटिभ
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ५, सोमबार

पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठको कोरोना परिक्षणका तेश्रो रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना भाइरसबाट संक्रमित श्रेष्ठको तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
नेगेटिभ नतिजा आएसँगै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।
मे ७ मा कोरोना संक्रमित भएका रञ्जितको यसअघि दुईवटा परीक्षणको नजिता पोजेटिभ आएको थियो ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सेयर गर्दै आफ्नो परिक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
कोरोनापछि आफू स्वास्थ्यको बारेमा सचेत भएको उनको भनाइ छ ।
उनले कोरोना लाग्दैमा डराउनु नपर्ने र खानपानमा ध्यान दिँदा फाइदा हुने बताए ।
यसअघि गत वैशाख २९ गते उनले कोरोना संक्रमण भएकोले आफु सेल्फ आइसोलेसनमा बसेको सार्वजनिक गरेका थिए ।
१२ दिन सम्म आइसोलेसनमा रहँदा सन्तुलित खानपानमा ध्यान दिनुको साथै अनुशासनमा हिँडेकाले संक्रमण चाँडो छिट्टै निको भएको उनको अनुभव रहेको छ ।
खेलाडि श्रेष्ठले आफु आइसोलेसनमा बस्दाको समयमा दालभात, तरकारीको साथमा तातोपानी खाने गरेको बताए । खानामा गरम मसला प्रयोग गर्नुका साथै वाफ ज्यादा लिने गरेको पनि उनले जानकारी दिए
कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनी डिस्चार्ज भने भइहाल्ने छैनन् । डिस्चार्ज लिन उनले चौथो परिक्षणको रिपोर्टको प्रतीक्षा गर्नु पर्नेछ ।
चौथो परीक्षणका नतिजा दुई तीन दिनमा प्राप्त हुने श्रेष्ठले बताए । चौथो रिपोर्ट पनि नेगेटिभ आएको खण्डमा उनी आइसोलेसनबाट बाहिर निस्किने छन् ।
डाक्टरहरुले शरीर कमजोर रहेका कारण केही समय आराम गर्नु सुझाव दिएकोले तत्काल काममा नजाने उनको भनाइ छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी रञ्जित सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग) नेपाली राष्ट्रिय टिममा थिए ।
ए डिभिजन लिग फ्रेण्ड्स क्लबबाट खेलेका उनी पछिल्लो समय युएईमा छन् ।
Categorized in स्पाेर्ट्स