arin enterprises

पचली भैरव जात्रा : करिब ५० वर्षपछि लिंगो ठड्याइयो

SamacharDesk – राम डंगोल | २०८० कार्तिक १, बुधबार

कला र संस्कृतिका धनी नेवार समुदायको ठूलो पर्व मध्ये एक पचली भैरवको जात्रा मनाइरहेको छ ।

जात्रा अन्तर्गत आज करिब ५० वर्षपछि पचलीको यःसिंखेलमा २३५ बर्ष पुरानो हलिपता (बिश्वध्वजा) सहितको यःसीं ठड्याइएको छ । 

मुख्य जात्राको रुपमा पचली भैरव अर्थात त्यप आजुको जात्रा नेपाल सम्बत्अनुसार हरेक वर्ष कौलाथ्व चौथी तथा पञ्चमीका दिन मनाइन्छ ।

तर जात्राको शुरुवात भने हरेक वर्षको घटनास्थापनादेखि पंचमीसम्म पाँच दिन मनाइन्छ । घटनास्थापनाको दिन साँझ पचली भैरवको मूर्तिलाई पाःलाः (पुजारी)को घरबाट टेकुस्थित पीठमा लगिन्छ ।

तत्पश्चात पीठमा राखिएको भोलिपल्ट मूर्तिमा दृष्टि दिनको लागि कोहितिस्थित चित्रकारको घरमा राखिन्छ । त्यहाँ भीमसेनस्थानका चित्रकारहरूले मूर्तिमा लँपुं छायेगु (साजसज्जा गर्ने) र मिखा कंकेगु भनेर दृष्टि दिने कार्य गरिन्छ ।

यो बेला कोहितिमा वटु टोलका चित्रकारहरू पाःलाःको रूपमा बस्न आउने गर्छन् । दृष्टि दिइसकेपछि बेलुकी मूर्तिलाई भिमसेनस्थानस्थित क्वाबहाःमा लगी थकु जुजुको तर्फबाट पूजा लिने गरिन्छ ।

पूजापछि त्यहि दिन बेलुकी मूर्तिलाई टेकुस्थित पचली पीठमा ल्याई राखिन्छ । पंचमीको दिन बिहानै मूर्ति रहेको घ्याम्पोमा वर्ष दिनअगाडिदेखि राखीराखेको जाँड, रक्सी सहितको जल टेकुस्थित पञ्चनालीमा बगाइन्छ ।

नवरात्रिको पाँचौं दिन पञ्चनालीमा बगाएको जल लिएमा रोगव्याधि नलाग्ने जनविश्वास छ ।  टेकुमा नवरात्रि मेला भर्न आएका श्रद्धालुहरूले यसले नुहाउने गर्छन् । सोहि दिन बेलुका पचली भैरवको मुख्य जात्रा मनाइन्छ ।

बेलुकी मूर्तिलाई बोकी रुद्रविनायक, अजिमासँगै हनुमानढोका लगिन्छ । पचली आजुको मूर्ति हनुमानढोका पुगेपछि जीवित देवी कुमारीलाई आजुको दर्शन गर्न ल्याइन्छ र यसै क्रममा कुमारीले पचली भैरवसँग दृष्टि जुधाई शक्ति पुनप्र्राप्ति गर्छिन्।

कुमारीले भैरवको दर्शन गर्दा कुमारीले हेर्न पुग्यो नभनेसम्म मूर्तिलाई फिर्ता लानु नहुने मान्यता रहिआएको छ ।

Categorized in संस्कृति