arin enterprises

करन केसीको शानदार प्रदर्शनमा नेपाल विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २, बिहिबार

त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङमाथि शानदार जित हासिल गरेको छ । बिहिबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो ।

मूलपानी क्रिकेट स्टेडियममा भएको खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेटको क्षतीमा पुरा गर्यो ।

नेपालको लागि ओपनर आसिफ शेखले ४२ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए । गुल्सन झाले १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन जोडेका थिए ।

हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे ।

यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रन बनाउँदै अलआउट भएको थियो ।

हङकङको लागि यासिम मुर्तजाले ३६ तथा जीशान अली १७ रन बनाउँदा अरुले दोहोरो अंक छुन सकेन ।

नेपालको लागि करन केसीले शानदार प्रदर्शन गरे । हङकङलाई सस्तैमा समेत्ने क्रममा उनले ४ विकेट लिए । यस्तै सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट हात पारे ।

योसँगै नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले यसअघिको खेलमा यूएईलाई ७ विकेटले हराएको थियो ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।

सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् ।

सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।

Categorized in स्पाेर्ट्स