महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने
SamacharDesk | २०८० कार्तिक ४, शनिबार

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्ने भएको छ ।
इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको गुटेरेसको नेपाल भ्रमण यही कात्तिक १२ देखि १५ गतेसम्म हुने भएको छ ।
गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।
नेपाल भ्रमणका अवसरमा कात्तिक १४ गते नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।
महासचिव गुटेरेसले सम्बोधन गर्नुहुने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिएको ।
Categorized in राष्ट्रिय