नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न
SamacharDesk – Ram Dangol | २०८० कार्तिक २६, आइतबार

भक्तपुरको मध्यपुर थिमिस्थित नगदेशमा बाँसुरी बाजा प्रतियोगिता सम्पन्न भएको छ ।
लोप भइसकेका मौलिक बाजाहरुको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न वडा वडामा तालिम तथा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षित बाँसुरीवादकहरुलाई हिजो नृत्युनाथ बासुरी खलःले प्रतियोगिताको आयोजना गरी उत्कृष्ट भएकालाई नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रम आयोजना गर्ने उद्घोष समेत गर्नुभयो ।
विगतका समयमा नगरपालिका अन्तर्गत वडा नं. ४ ले उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता सम्पन्न गरेको जानकारी दिंदै आगामी दिनमा बाँसुरी बाजा, मौलिक बाजाको रुपमा रहेको दाफा, लोपोन्मुख नौ बाजा लगायतका विभिन्न बाजा संरक्षणमा नगरपालिकाले नेतृत्व गर्ने बताए ।
उहाँले थिमिको क्वलाखु र बोडेको हराइ सकेको दाफा भजनलाई स्थानियस्तरको पहलमा पुनः सुरु गरिएको समेत उल्लेख गरे ।
लोपोन्मुख बाजाको सुचीमा सुचिकृत नौ बाजाका विषयमा नयाँ पुस्तालाई जानकारी दिने तथा मौलिक बाजालाई संरक्षण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
प्रतियोगितामा लोकन्थलीको सिद्धिगणेश दाफा भजन खलः प्रथम भएको छ । योसँगै भजन खलःलाई प्रमाणपत्र तथा नगद ५० हजार पुरस्कार दिइएको छ ।
प्रतियोगितामा वडा नं. ५ को झीगु बाँसुरी खलः दोस्रो तथा वडा नं. ४ को सिवा सायमि खलः तेस्रो भएका छन् । दोस्रो र तेस्रो भएका समूहलाई क्रमशः २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
१० वटा बाँसुरी समूहले सहभागिता जनाएको कार्यक्रममा वडा नं. ७ नगदेशस्थित नेवाः ऐतिहासिक बाँसुरी खलःलाई सान्त्वना पुरस्कारसँगै नगद १० हजार दिइएको छ ।
नृत्यनाथ बाँसुरी खलः त्वागाः टोलले पहिलो पटक बाँसुरी बाजा प्रतियोगिता सम्पन्न गरेको हो ।
Categorized in पेजथ्री