टेकु अस्पतालमा ४ जना संक्रमित निको भएर घर फर्किए
SamacharDesk – विकाश | २०७७ जेठ ८, बिहिबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित भइ टेकु अस्पतालमा उपचाररत ४ जना निको भएर आज घर फर्किएका छन् ।
टेकु अस्पतालमा उपचाररत दुई जना पुरुष र दुई जना महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेमा २३ र २५ वर्षीया दुई जना महिला र ३७ र २७ वर्षीय दुई पुरुष रहेका छन् । उनीहरु काठमाडौंका दुई जना र भक्तपुरका दुई जना रहेको बताइएको छ ।
ती मध्ये भक्तपुर दुवाकोटमा बस्दै आएका सशस्त्र प्रहरी हुन् भने अर्की महिला मध्यपुर थिमि बस्ने ललितपुर पूल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानकी कर्मचारी हुन् ।
उनीहरु अस्पताल भर्ना भएको ९ दिनमा निको भई डिस्चार्ज भएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ४९ पुगेको छ । हिजोमात्रै कोसी अस्पतालमा उपचाररत उदयपुरका ८ जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।
Categorized in समाज