arin enterprises

राजोपाध्याय गायन प्रतियोगीताकाे फाइनल भोलि

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० मङ्सिर ८, शुक्रबार

राजोपाध्याय समाजबाट आयोजना हुन लागेको राजोपाध्याय गायन प्रतियोगीताको फाइनल भोलि शनिबार हुने लागेको छ ।

भोलि दिउँसोको १ बजे पाटन तःलाछेँस्थित दबू नेवाः नसामा कार्यक्रम हुन लागेको समाजले जनाएको छ ।

अन्तिम प्रतियोगीताका लागि अडिसनबाट ११ जना प्रतिस्पर्धीहरु छानिएका थिए भने ११ मध्ये १० जनाले भोलिको फाइनलमा आआफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने भएका छन् ।

एक जना प्रतिस्पर्धी भने केही समयको लागि नेपाल बाहिर रहने भएकाले १० जना बीच अन्तिम प्रतिस्पर्धा हुन लागेको कार्यक्रम संयोजक साथै समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्यायले बताए ।

प्रतियोगीताको लागि अडिसन भने २०७६ फागुन १७ गते नै सम्पन्न भइसकेको थियो । कोरोना महामारीलगायतका कारणले कार्यक्रम ढिलो हुन गएको पनि संयोजक राजोपाध्यायले बताए ।

‘अडिसन पछि कोरोना महामारीका कारण लकडाउन भयो, त्यसपछि फेरी डेंगु र विभिन्न कारणले कार्यक्रम ढिला हुन गयो । अब अन्ततः कार्यक्रम हुन लागेको छ, खुसी र उत्साहित छु’ राजोपाध्यायले भने ।

अन्तिम प्रतिस्पर्धामा कलानिधी इन्दिरा संगीत महाविद्यालयका प्रिन्सिपल साथै गायक धनबहादुर गोपाली, संगीत संयोजक साथै क्लासिकल गिटास्टि भुपेन्द्र बज्राचार्य र नेपालका पहिलो हवाइन गिटारिस्ट ईश्वर जोशी सम्मिलित निर्णायक मण्डलले विजेता छनौट गर्नेछ ।

प्रतिस्पर्धामा पहिलो हुनेलाई रु. १० हजार, दोश्रोलाई रु. सात हजार र तेश्रो हुनेलाई रु. चार हजार नगद पुरस्कार दिइने समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताए ।

समाज भित्रका लुकेका प्रतिभालाई उजागर गर्न कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राजोपाध्याय बताउँछन् ।

Categorized in पेजथ्री