arin enterprises

४८ बर्षसम्म लगातार बराह बनेका केशव कृष्ण श्रेष्ठ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० मङ्सिर ९, शनिबार

केशव कृष्ण श्रेष्ठ, जसको अर्को नाम नै बराह बनेको छ । किनकि उनी लगातार ४८ बर्षसम्म बराह बने । ललितपुरको प्रशिद्ध ऐतिहासिक कार्तिक नाचमा केशव कृष्ण लगातार ४८ वर्षसम्म बराह बनेर नाचे ।

हरेक बर्ष कार्तिक शुक्ल द्वादशीका दिन ललितपुर मंगलबजारको कार्तिक डबलीमा बराह नाच प्रदर्शन गर्ने गरिन्छ । र आजको दिन पनि बराह नाच प्रदर्शनको दिन आइपुग्दा केशव कृष्णको नाम आइरहने गर्दछ ।

राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको पाँच दिने नाच उनको नाति योगनरेन्द्र मल्लसम्म आइपुग्दा एक महिनाको हुन गयो । यसरी कार्तिक महिनाभरी चल्ने नाच भएकोले यसलाई काति प्याखं वा वा कार्तिक नाचको नाम दिइयो ।

यस कात्ति प्याखंको प्रमुख आकर्षण भनेकै कार्तिक शुक्ल त्रयोदशी देखाइने नृसिंह अवतारको नाच हो भने बराह नाचको लोकप्रियता पनि उत्तिकै छ ।

कार्तिक शुक्ल द्वादशी र त्यसको भोलिपल्ट त्रयोदशीमा क्रमशः हुने बराह अवतार र नृसिंह अवतारको नाच हेर्न मंगलबजारमा मानिसहरुको ठुलै घुइँचो लाग्ने गर्दछ ।

कार्तिक महिनाको चिसो रातमा बदाम खाँदै कार्तिक नाच हेनुको मज्जा नै बेग्लै छ । बराह नाचमा क्वथु तःझ्याः तुं चुकका श्रेष्ठहरु बराह बन्ने गर्छ ।

आज भन्दा १८ बर्ष अघिसम्म भने एकै जना व्यक्ति मात्र बराह बन्दै आएका थिए, केशवकृष्ण श्रेष्ठ ।

करीब करीब पाँच दशकसम्म बराह बनेका उनको जन्म वि.सं १९९६ साल भाद्र १ गते ललितपुरमा भएको थियो । उनले कार्तिक नाचमा वि.सं २०१४ साल देखि २०६२ साल सम्म लगातार बराहको भुमिका निर्वाह गरे ।

यो ४८ बर्षसम्म केशव कृष्ण बाहेक अरु कसैले पनि यो भुमिका निर्वाह गरेन ।

“म ५ वर्षको हुँदा अर्थात वि.सं २००१ सालमा कार्तिक नाचको लागि नासःद्यः कहाँ किसलि चढाएको थिएँ । त्यसपछि वि.सं २०१४ साल देखि म बराहको रुपमा नाचे”, केशवले भने ।

उनी भन्दा अगाडि उनका हजुरबुबा कृष्णवीर श्रेष्ठ, बुबा हेमबहादुर श्रेष्ठ र दाजु (काकाको छोरा) पूर्णमान श्रेष्ठको साथै सिद्धिमान श्रेष्ठले बराहको भुमिका निभाउँदै आएका थिए ।

“जब म नाचें, म पछि अरु कसैलाई यो नाच सिकाएको पनि थिएन र सिकाउनेहरु पनि कोहि थिएन” उनले आफ्नो बुबा हेमबहादुरसँग यो नाच सिकेका थिए । आफ्नो बुबासँग नाच मात्र नभइ उनले खिं, दम्वःखिं, धाः, ज्वःनगरा, मृदंग जस्ता बाजा पनि सिके ।

बराहको भुमिका निर्वाह गर्दागर्दै वि.सं २०६२ सालसम्म आइपुग्दा बुढेसकालले छुदै गयो र गार्‍हो पनि त्यत्तिकै हुँदै गयो ।

त्यसपछि छोरा नातिहरुले तपाईलाई अब गार्‍हो हुन्छ, अब यो काम हामी गर्छौ भनेछन् । छोरा नातीहरुको यस्तो भन्न आएको त्यो क्षण सम्झँदै आजको दिनमा पनि खुसी हुने गर्छन् केशव कृष्ण ।

त्यसपछि उनका नाति रविकृष्ण श्रेष्ठ, भाई नारायण कृष्ण श्रेष्ठ र छोरा सुनिल कृष्ण श्रेष्ठले यसलाई निरन्तरता दिए ।

अहिले भने केशवका नातिद्वय सौरभ कृष्ण श्रेष्ठ र विवेक कृष्ण श्रेष्ठले बराहको रुपमा नाच्दै आइरहेका छन् । बराहको साथै उनले कृष्णको भुमिका पनि निर्वाह गरिरहेका छन् ।

वि.सं २०५८ साल देखि कार्तिक नाचमा मूलगुरुको रुपमा भुमिका निभाएका उनी हाल ८५ हाल बर्षको भइसकेका छन् ।

उनले अहिले खिं, मृदंग जस्ता बाजाको प्रशिक्षण पनि दिइरहेका छन् । साथै कार्तिक नाच र दाफा गायनको पनि प्रशिक्षण दिइरहेका छन् ।

Categorized in संस्कृति