उपत्यका प्रवेशका सबै नाका सील हुने, प्रवेश विन्दुमै रोक्न गृहको निर्देशन
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ ९, शुक्रबार

गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
जेठ १ गते गृहमन्त्री रामवहादुर थापा र उपत्यका नगरपालिका फोरमवीच छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो । योसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा थप कडाई हुने भएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सील गर्न आग्रह गरिएको छ ।
लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरिएको छ ।
‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टाइन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन (होल्डिङ समेत) प्रयोजनका लागि लगत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने’ पत्रमा भनिएको छ ।
साथै गृहबाट जारी पत्रमा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयम् आफने खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपतयका प्रवेश अनुमतिका लागि माग गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।
पत्रमा काठमाडौँ उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामा नै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ ।
‘काठमाडौँ उपत्यकास्थित स्थानीय तहले स्थानीय प्रशासनको समन्वयमा लुकीछिपी उपत्यका प्रवेश गर्नेहरुको खोजी र लगत संकलन गरी आवश्यक कारवाही प्रक्रिया सुरु गर्ने,’ पत्रमा भनिएको छ, ‘सबै सुरक्षा निकायले उपत्यका प्रेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्ने, स्थानीय तहसँग समन्वय गर्ने ।’
गृहले उपत्यकाका स्थानीय तहलाई अनुरोधसहित पठाएको पत्रमा स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्ने पनि उल्लेख छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा भेटिएका कोरोनाभाइरस संक्रमितमध्ये अधिकांश लकडाउनकै समयमा पास लिएर बाहिरबाट आएकाहरू देखिएका छन् ।
यस्तो अवस्थामा उपत्यकाका २ वटा महानगरपालिका साथै १६ नगरपालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यकाको आवतजावलतमा कडाई गर्न निरन्तर माग गर्दै आएका थियो ।
फोरमले कोभिड १९ उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलाई पनि भेटेर यस विषयमा छलफल गरेको थियो ।
जेठ १ गतेको छलफलमा पनि उपत्यकाका जनप्रतिनिधिले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका थिए ।
पछि फेरी काठमाडौं महानगरपालिकाबाट पनि गृह मन्त्रालयलाई पत्राचार गर्दै उपत्यकामा हुने आवतजावतमा कडाई गर्न माग गरेको थियो ।
Categorized in राष्ट्रिय